मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते लेखेको फेसबुक स्टाटस ।
विराटनगर । कोशी प्रदेशमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बाक्लो संख्यामा फेसबुक स्टाटस लेख्नेमा दरिन्छन् । उनी के रात के बिहान जुनसुकै बेला पनि स्टाटस लेख्छन्, र लेखेको स्टाटस हत्तपत्त मेटाउँदैनन् । उनका नौ लाख फेसबुक फलोअर्स छन् । आफ्नो अराजक अभिव्यक्ति र व्यवहारका कारण उनी सधैं विवादमा फसिरहन्छन् । पछिल्लो पटक पत्रकार गोपाल दाहालविरुद्ध विषवमन गर्दै आएका साम्पाङको सर्वत्र आलोचना भैरहेको छ ।
उनै हर्क साम्पाङकै जस्तो ह्वारह्वार्ती स्टाटस कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की त लेख्दैनन्, तर सकेसम्म दिन नबिराई अझ एक दिनमै दुई–चार वटा केही न केही स्टाटस भने लेख्न छाड्दैनन् ।
‘हिक्मत कार्की’ नामको उनको फेसबुक पेजमा २१ हजारमात्रै फलोअर्स छन् । साम्पाङको आफ्नै पाराको स्टाटस लेख्ने तरिका छ । पत्रकारिताको भाषामा भन्ने हो भने साम्पाङ ‘म्याजिक बुलेट थ्योरी’ को स्टाटस लेख्छन् । जसलाई लेख्नुपर्ने हो उसको नामै किटेर घोचेर लेख्छन् । लेखेको स्टाटस पोस्ट डिलिट पनि गर्दैनन् ।
यता कोशी प्रदेशका मुख्यमन्त्री स्टाटस त लेख्छन् तर उनी विषय खुलाएर भन्दा पनि ‘यो जोसँग सम्बन्धित छ’ भन्ने सरकारी पाराले लेख्छन् ।
शनिबार राति मुख्यमन्त्री कार्कीले एउटा फेसबुक स्टाटस लेखेका छन् । निकै हिम्मत जुटाएर राति १० बजे १६ मिनेट जाँदा लेखेको जस्तो देखिने उनको स्टाटस भने यस्तो छ, ‘तिम्रो कुन सामाजिक सञ्जाल, कुन मिडिया र कुन युट्युबले भन्छ ? नेकपा (एमाले)–कांग्रेस सत्ता सहकार्य संकटमा छ, भनेर ! तिम्रो मिसन, कुत्सित मनसाय वा अरु केही ? त्यो भन्दा बाहेक केही होइन । आउ बहस गरौं..।’
यो स्टाटस कार्कीले कसलाई इङ्गित गरेर लेखेका हुन् आममान्छेले सायदै सजिलै बुझ्लान् । उनको स्टाटसमा कमेन्ट पनि सकारात्मकभन्दा नकारात्मक बढी छ । सरोज श्रेष्ठले कमेन्टमा लेखेका छन्, ‘होइन, यिनी मुख्यमन्त्री हुन् कि वडा अध्यक्ष हुन् ? तल पनि कति झर्न सकेका हुन् हौ लाजको पसारो ।’
मुख्यमन्त्री कार्की फेसबुक स्टाटस लेख्न र तुरुन्तै मेटाउन पनि उत्तिकै माहिर छन् । असोज २० गते उनले त्यस्तै अमूर्त तर विवादस्पद स्टाटस लेखे ।
‘ब्यस्त सडकमा बहुला कुकुरहरू हिंडे भने, सडक यात्रीहरू सतर्कता अपनाएर हिंडनुपर्छ । तर कुकुरको बदलामा मान्छेहरू बहुलाएर सडकमा हिंडे भने अब बुझ्नुस् है, स्वास्थलाभको कामना गरेर मात्रै हुन्न है बहुलाएका कुकुरहरूको उपचारमा सडक यात्रीहरू र सरकार पनि सजक भएर र आवश्यक सतर्कता अपनाएर लाग्नुपर्छ है’ मुख्यमन्त्री कार्कीले दशैँको केही दिनअघि यस्तो स्टाटस लेखेका थिए । तर लेखेको केही मिनेटमै उनले आफ्नो स्टाटस पोस्ट डिलिट गरेका थिए ।
यसरी हतारमा स्टाटस लेखेर हतारमै डिलिट गर्ने व्यक्तिको मनोवृत्ति प्रायः ध्यानाकर्षण गर्ने (एटेन्सन सिकिङ) वा क्षणिक भावनात्मक हल्का महसुस गर्न खोज्ने प्रवृत्तिसँग सम्बन्धित हुने विज्ञहरू बताउँछन् ।
कहिलेकाहीँ यो प्रवृत्ति व्यक्ति विशेषको भावनात्मक अस्थिरता वा ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ जस्ता मनोवैज्ञानिक अवस्थासँग पनि सम्बन्धित हुने विज्ञहरू ठहर गर्छन् । यदि व्यक्ति आफ्नो स्टाटस पर्याप्त राम्रो छैन भन्ने सोच्दै तुरुन्तै मेट्छ भने यसले व्यक्तिको आत्म–संकोच प्रकट हुने विज्ञहरू बताउँछन् । यो व्यक्तित्व र प्रवृत्तिको एक हिस्सा भएको उनीहरूको बुझाइ छ ।
उसो त व्यक्ति बिझाउने फेसबुक स्टाटस लेख्नमा प्रदेशकै पूर्वमुख्यमन्त्री केदार कार्की पनि कम छैनन् । नेपाली कांग्रेसमा शेखर कोइरालाको खास मान्छे भन्न रुचाउने कार्कीले पार्टी सभापति शेरबहादुर देउवा तथा पूर्वमहामन्त्री शंशाक कोइरालाको फोटो राखेर आइतबार फेसबुक स्टाटस लेखेका छन् ।
शेखर कोइरालाको अनुपस्थितिमा कोइराला निवास पुगेका देउवालाई इङ्गित गर्दै उनले यस्तो स्टाटस लेखेका छन्, ‘संस्कार अग्रज र अनुभवीमै हुन्छ । शेखर दाइ नभएको बेला कोइराला निवास गएर पार्टी सभापतिले बडप्पन देखाउनुभयो । सधैँ माकुरोको बच्चा प्रवृति अँगाल्ने महामन्त्रीको चरित्र विराटनगरमा देखियो ।’
पार्टीको कोशी प्रदेश सम्मेलनका क्रममा विराटनगर आएका देउवा शनिबार विहान कोइराला परिवारकै सदस्य डा सशांकसँग कोइराला निवास पुगेका थिए । त्यहाँ उनीहरुले चिया खाएर गफिदै गरेको फोटो सार्वजनिक भएको थियो । तर देउवा र सशांक जाँदा डा शेखर भने विराटनगरमा थिएनन् ।
पार्टीको संस्थापन पक्षसँग असन्तुष्ट डा शेखर प्रदेश सम्मेलन बहिस्कार गरेर शुक्रकार दिउँसो काठमाडांै उडेका थिए । डा शेखर नभएको बेला देउवा कोइराला निवास गएको भन्दै कार्कीले आपत्ति जनाएको जस्तो उनको स्टाटसले देखाउँछ ।
बहालवाला मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री दुवै जना आपसमा फेसबुकमै जुहारी खेल्नेमा पनि पर्छन् । मुख्यमन्त्री कार्कीले असोज २० गते लेखेको ‘बहुला कुकुर’ सम्बन्धी स्टाटस पूर्वमुख्यमन्त्री कार्कीप्रति नै लक्षित भएको जानकारहरू बताउँछन् । यद्यपि मुख्यमन्त्री कार्कीले उक्त स्टाटस भने तुरुन्तै मेटाएका थिए ।
View : 214
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved