Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सातवटा चुनाव लडेर चार पटक निर्वाचित भएका बलबहादुर केसीले गरे आठौं चुनाव नलड्ने घोषणा

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

विराटनगर । सोलुखुम्बुबाट सातवटा निर्वाचन लडेर चार पटक निर्वाचित भई तीन पटक मन्त्री नै बनेका नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीले आगामी प्रतिनिधिसभा निर्वाचन भने नलड्ने घोषणा गरेका छन् ।

केसीले आफ्नो जीवनको आठौं चुनावका रुपमा अघि आएको २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने आफू उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन् ।

काठमाडौंमा बसेर हरेक निर्वाचनमा सोलुखुम्बुको उम्मेदवार बन्ने आरोप खेपेका नेता केसी २०४८ सालयताका सातवटा निर्वाचन लडिसकेका छन् । उनले २०४८, २०५१, २०५६ र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । 

२०६४ सालको पहिलो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भएका थिए ।

यस पटक पनि नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिको बैठकले केसीकै नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो । 

पछिल्लो पटक नेता डा.शेखर कोइराला निकट रहेका केसीले आफुलाई गरिएको सिफारिसप्रति आभार व्यक्त गर्दै आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन भने नलड्ने फेसबुकबाट घोषणा गरेका छन् । 

‘२०७९ को चुनावी अभियानका क्रममा नै म अर्को पटक चुनाव नलड्न पनि सक्छु भन्ने कुरा आमसभाहरूमा राखेको थिएँ । सोही सन्दर्भलाई स्मरण गर्दै यस फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नहुने निर्णयमा पुगेको छु ।’ उनले भनेका छन् ।

यद्यपि, आफू नेपाली कांग्रेसको इमानदार कार्यकर्ता रहेकाले पार्टीका उम्मेदवारको पक्षमा सक्रिय सहयोग गर्ने उनले स्पष्ट पारेका छन् । ‘चारतारे झण्डा र रुख चिन्ह भएका उम्मेदवारलाई पूर्ण सहयोग गर्नेछु’ उनले आफ्नो घोषणामा उल्लेख गरेका छन् ।

सोलुखुम्बुको नेचा–सल्यानमा जन्मिएका केसी २०२७ सालमा नेपाल विद्यार्थी संघ सोलुखुम्बुको जिल्ला सभापति चयन भएर सिधै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । केसी पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा नेविसंघको कार्यवाहक सभापति र २०४० देखि २०४४ सम्म अध्यक्ष समेत भएका थिए ।

उनले २०५२ मा खेलकुदमन्त्री, २०५६ मा श्रम तथा रोजगारमन्त्री र आवास तथा भौतिक योजनामन्त्री र २०५८ मा नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

View : 187

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved