Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । सामाजिक कार्यका विद्यार्थीको क्षमता विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयमा नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरु भएको छ । 

युरोपियन यूनियनको सहयोगमा सञ्चालित उच्च शिक्षामा क्षमता विकास परियोजना अन्तर्गत नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरू भएको हो । 

सन् २०२६ को जनवरीदेखि सुरू भएको परियोजनामा चेक रिपब्लिकको ओष्ट्राभा विश्वविद्यालय, स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय र फिनल्याण्डको इष्टर्न फिनल्याण्ड विश्वविद्यालयको सहकार्य छ । 

सन् २०२८ सम्म सञ्चालन हुने परियोजना पूर्वाञ्चल विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा समेत सुरु भएको छ । 

परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकहरूलाई प्रशिक्षकको रुपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्ने जनाइएको छ । 

परियोजनाका स्रोतव्यक्तिहरू स्पेनको राष्ट्रिय दूर शिक्षा विश्वविद्यालय प्राध्यापक डाक्टर एन्टिनो लोपेज र डाक्टर इनेश मार्टिनेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा माघ १२ गते  सामाजिक कार्यका विद्यार्थी र प्राध्यापकहरूसँग छलफल गरेका छन् । 

यस्तै, मंगलवार सामाजिक कार्यको अध्ययन सकेर काम गरिरहेका विद्यार्थी र सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । 

विराटनगरस्थित बालसुधार गृह, सिविन नेपाल, रिचमण्ड फेलोसिपको कार्यालयको अवलोकन भ्रमण गरी उनीहरूले गर्दै आएको कामको विषयमा स्रोत व्यक्तिद्वयले जानकारी लिनुका साथै कर्मचारीहरुसँग अन्तरक्रिया गरेका हुन् ।

View : 101

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved