जेनजी आन्दोलनकारीका नाममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको झापाको दमक नगरपालिका ।
झापा । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाईलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुआत गरेका छन् ।
गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए ।
“नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,” उनले भने “सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ । जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सेवाहरु अब सुचारु भएका छन् । जुन तत्काल नहुँदा पनि हुन्छ, त्यस्तो सेवा चाहीँ अहिले दिन सक्दैनौँ ।”
नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व सङ्कलन लगायतका सेवा सुरु भएको हो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ ।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उनले बताए ।
नगरपालिकामा ११ वडा छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।
भग्नावशेषहरुको सरसफाइ र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए ।
कनकाई नगरपालिकाले आगजनीमा परेको भवनबाटै आज सेवा सुरु गरेको छ । नगरमा नौ वटा वडा कार्यालय छन् । सबै वडा कार्यालयमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएका थिए ।
नगरपालिकाबाट न्यूनतम् आवश्यक सेवा प्रदान गर्न थालिएको र दुई दिनपछि सबै वडाले आफ्नै वडा कार्यालयबाट वडावासीलाई सेवा दिनेगरी तयारी भइरहेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।
नगरका छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा कार्ड नवीकरण भएका सबैको भत्ता बैंक खातामा पठाइसकेको उनले जानकारी दिए ।
ध्वस्त भएको वडा कार्यालयमा सरसफाइ सकेर विद्युत्, इन्टरनेट, फर्निचर, पानी लगायतको सुविधा पुर्याइएको उनले बताए ।
“आन्दोलनमा नगरपालिकाको मुख्य भवनको भूइँतला पूर्णरुपमा जलेको छ,” उनले भने– “जलेको भागको खरानी पन्छाउँदै कार्यालय पुनःसञ्चालन गरेका छौँ । भवन प्रयोग गर्न उपयुक्त हो कि होइन भनेर प्राविधिक परीक्षण हुन बाँकी छ ।”
मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवन र १५ वटामध्ये १४ वटा वडा कार्यालय जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोड भएका थिए ।
नगरपालिकाले आइतबारदेखि आंशिक सेवा प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
“अति आवश्यक विषयलाई प्राथमिकता दिएर सेवा सुरु गरेका छौँ,” उनले भने– “वडा कार्यालयबाट पनि सरसफाइ गरेर जनताको सेवा सुचारु गरिएको छ । हामी युद्धस्तरमा काम गरिरहेका छौँ ।”
विर्तामोड नगरपालिका, कचनकबल गाउँपालिका र झापा गाउँपालिकाले सरसफाइ गरिरहेका छन् ।
“भवन ध्वस्त भएको छ, कागजपत्र जलेर खरानी भएका छन्,” विर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाइँले भन्नुभयो, “अत्यावश्यक सेवा पाँच दिनपछि सुचारु गर्छौं ।”
View : 317
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved