Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बुढानीलकण्ठ स्कुलमा बुद्ध जयन्ती (फोटो)

उद्घोष सम्वाददाता
९ जेठ २०८१, बुधवार

विराटनगर । विराटनगर–२ स्थित बुढानीलकण्ठ स्कुलले २५६८ औं बुद्ध जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरूले बुद्ध जयन्तीका अवसरमा बुद्धका विभिन्न उमेर कालको प्रस्तुति गरेका हुन् । 

स्कुलका कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका बालबालिकाहरूले बुद्ध तथा भिक्षु बनेर आफ्नो प्रस्तुति दिएका हुन् । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको माझमा उनीहरूले प्रस्तुति गरेका हुन् ।

कार्यक्रममा कक्षा ६ का छात्र अनुभव पौडेल र कक्षा १० की छात्रा श्रीशा नेपालले बुद्धको जीवनीसँग सम्बन्धित कविता वाचन गरेका थिए । विद्यार्थीहरूले गौतम बुद्धले दिएका सुखी जीवनसँग सम्बन्धित ‘सँधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने’ सन्देशमूलक प्रस्तुति गरे ।

कक्षा ८, ९ र १० का छात्राहरूले ‘फूलको आँखामा फूलै संसार’ र कक्षा ९ का छात्रहरूले ‘धर्म’ बोलको गीत प्रस्तुत गरे । कक्षा ५, ६, ७ र ८ का छात्राहरूले ‘बुद्धम् शरणम् गच्छामी’ र कक्षा ९ का छात्राहरूले ‘यही हो मेरो देश नेपाल’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

बुद्ध जयन्तीलाई भव्य बनाउन स्कुलका नृत्य प्रशिक्षक दिपेन्द्र थापासहित शिक्षिका मन्जु श्रेष्ठ र अस्विना भट्ट लगायतले भूमिका निर्वाह गरेको भन्दै प्रिन्सिपल मणिराज भट्टराईले उनीहरूलाई धन्यवाद ज्ञापन गरे ।

बुढानीलकण्ठ स्कुलले विराटनगरमा विगत ४१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट क्षमता प्रस्तुत गर्दै आइरहेको प्रिन्सिपल भट्टराईले बताए । 

View : 132

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved