विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र अनुशासन र आचारसंहिताको गम्भीर अभाव रहेको भन्दै कडा आलोचना गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा आइतबार लिखित धारणा राख्दै उनले चियापसलदेखि संसदसम्म कांग्रेस नेतामाथि हुने टिप्पणीले पार्टीलाई कमजोर बनाइरहेको बताए ।
पार्टीभित्र संस्थागत रूपमा धारणा राखौं, सार्वजनिक स्थलमा गालीगलौज बन्द गरौं, पराजुलीको भनाइ थियो । उनले पार्टी नेतृत्व स्वयंले नै नैतिकवान र इमान्दार व्यवहार देखाउनु पर्ने आवश्यकता पनि औंल्याए ।
पराजुलीले क्रियाशील सदस्यको वर्गीकरण, प्रदेश सभापति तथा नेताहरुको भूमिकालगायत विविध विषयमा सुझाव दिएका थिए ।
सरकारमा कांग्रेसको भूमिका कमजोर रहेको भन्दै उनले एमालेसँगको गठबन्धनबाट अपेक्षित परिणाम नआएको धारणा राखे ।
उनले विकास निर्माणका बजेटमा मन्त्रीहरूको ‘मनपरी’ भएको, मोरङजस्ता क्षेत्र पछाडि पारिएको भन्दै असन्तुष्टि जनाए । नियुक्ति प्रक्रियामा कांग्रेसको प्रभाव घट्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयको उदाहरण दिएका थिए ।
सुशासन र भ्रष्टाचारको सवालमा नेतृत्व कमजोर देखिएको उनको आरोप थियो । काम गर्न नसक्ने मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउनु पर्छ, उनले भने ।
भ्रातृ संगठनलाई सक्रिय बनाउन र अधिवेशन समयमै गराउन जोड दिंदै उनले १०० दिने अभियानको सकारात्मक असरको स्मरण गरे । संघीयताको कार्यान्वयनमा समस्या रहेको, प्रदेश सरकारहरू स्रोत अभावकै कारण कमजोर बनेको उनको तर्क थियो ।
पराजुलीले छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलनमा राख्न चुनौती रहेको बताए । देशभित्र राजावादी चहलपहल बढ्नुको कारणबारे पार्टीले गम्भीर अध्ययन गर्नुपर्ने उनको सुझाव थियो ।
युवा र महिलामा देखिएको निराशालाई सम्बोधन गर्न नयाँ कार्यक्रम ल्याउनुपर्ने, पहिचानको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने र जनसंख्या वृद्धिदर घटिरहेको विषयमा गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
धर्म परिवर्तनका कारण सामाजिक तनाव बढेको उल्लेख गर्दै उनले सनातन हिन्दु राष्ट्रको मागसमेत उठाएका थिए । सवारी साधन, सडक सुरक्षा, कृषि संकट र युवालाई लक्षित स्टार्टअप प्रवद्र्धनमा पार्टीको स्पष्ट कार्यक्रम आवश्यक रहेको धारणा उनले बैठकमा राखेका थिए ।
View : 628
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved