विराटनगर । नेपाली कम्युनिष्ट पार्टीबाट सुनसरीको क्षेत्र नम्बर ३ मा टिकट पाइसकेका केशवकुमार बिष्टले उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
उनले सोमबार साँझ आफ्नो फेसबुक पेजमा आफ्नो नाम प्रचारमा आएपनि अर्कैलाई प्रस्ताव गरेको जानकारी दिएका हुन् ।
‘सुनसरी निर्वाचन क्षेत्र नं. ३ को उम्मेदवारमा मेरो निर्णय भएको प्रचारमा आएको छ, तर मैले अन्य कमरेडलाई प्रस्ताव गरेको जानकारी गराउँदछु’ बिष्टले लेखेका छन् ।
विष्ट यसअघि नेकपा एसका नेता थिए । हाल नेकपाका सहसंयोजक माधव नेपालका निकट पात्र रहेका बिष्टले अन्तिम समयमा चुनावी मैदानबाट बाहिरिने तयारी गरेका हुन् ।
बिष्ट २०७९ मा कांग्रेस–माओवादी–एस गठबन्धनबाट इटहरी उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार भएर पराजित बनेका थिए ।
बिष्टले इटहरीका केही सहकारी संस्थाको ऋण नतिरेपछि उनको घरजग्गा ती सहकारीले लिलामीको सूचीमा समेत राखेका छन् । सोही कारण बिष्ट मानसिक रुपमा चुनाव लड्ने मनस्थितिमा नरहेको निकटहरू बताउँछन् ।
उनले अरूलाई नै उम्मेदवारमा प्रस्ताव गरेपछि अहिले सुनसरी ३ मा नयाँ उम्मेदवारको खोजी भइरहेको जनाइएको छ ।
View : 250
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved