संशयमै सकियो चुनावी संग्राम
विराटनगर । निर्वाचनको अघिल्लो दिन मतदान केन्द्रमा खटिएका कर्मचारीले समेत चुनाव हुन्छ त ? भनेर व्यक्त गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको संशय अन्ततः समाप्त भएको छ । निर्वाचनलाई जनमतले उत्साहपूर्ण रुपमा अनुमोदन गरेको छ ।
जेनजी आन्दोलनपछि विघठित भएको प्रतिनिधि सभाको पुनस्र्थापनाको बहस अदालतमै तामेलीमा रहेको बेला फागुन २१ ले अपार अभिमत प्राप्त गरेको छ ।
सुशीला कार्की नेतृत्वको अल्पकालिन सरकारले चुनाबबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणको ‘काउन्टडाउन’ अब झन तीब्रगतिमा चलेको छ ।
केही मतदान केन्द्रमा छिटफुट बाहेक देशका सवै जिल्लामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगको भनाइ छ । देशभरमै सवैभन्दा धेरै मतदाता रहेको मोरङमा ६५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार जिल्लाका सवै ८८८ मतदान केन्द्रमा मतदानका लागि तोकिएको विहान ७ बजे नै मतदान सुरु भई बेलुका ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मोरङको ६ वटै निर्वाचन क्षेत्रमा ६४ दशमलव ५६ प्रतिशत मत खसेको प्रजिअ कट्टेलले जानकारी दिएका छन् ।
सवैभन्दा धेरै क्षेत्र नम्बर ५ मा ७१ दशमलव २८ प्रतिशत मत खसेको उनले बताए ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा ६७ दशमलव १५, क्षेत्र नम्बर ६ मा ६६ दशमलव २३, क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा ६२ दशमलव ९७, क्षेत्र नम्बर ३ मा ६१ दशमलव १७ र सवैभन्दा कम क्षेत्र नम्बर १ मा ६० दशमलव ३६ प्रतिशत मतदान भएको बताए ।
मोरङमा ६ वटै निर्वाचन क्षेत्रमा ७ लाख ८३ हजार ५० मतदाता थिए । जसमध्ये ५ लाख ५ हजार ५१४ मत खसेको जनाइएको छ । प्रजिअ कट्टेलले जिल्लाभर उत्साहपूर्ण रुपमा मतदान भएको अनूभूति सुनाएका छन् ।
मतदान सम्पन्न भएसँगै मतपेटिकाहरू मतगणनास्थल पु¥याइएका छन् । बिहीबार बेलुकासम्म मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका पुग्ने प्रजिअ कट्टेलले जानकारी दिए । उनले मतगणनास्थलमा सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि गणनाको प्रक्रिया आजै अघि बढाइने बताए ।
गणनाका लागि सीसीक्यामेरा जडित गणनास्थल तयार भइसकेको जनाइएको छ । क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका कार्यालयमा मतगणना हुनेछ ।
त्यस्तै क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलबारी, क्षेत्र नम्बर ४ को विराटनगर–२ स्थित जनता नमूना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना हुने जनाइएको छ ।
मोरङसहित कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले पनि उत्साहपूर्ण रुपमा मतदान गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहबीचको भिडन्तले देशकै ध्यान खिचेको झापा–५ सहित पाँचैवटा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले बताए । उनले झापामा ६४ दशमलव २४ प्रतिशत मतदान भएको बताए ।
झापामा ८१५ मतदान केन्द्रमा मतदानका लागि ७ लाख १३ हजार ५३७ मतदाता थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यन्तै उत्साहजनक, शान्तिपूर्ण, भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न भएको बताए ।
उनले निर्वाचन आयोगबाट निरन्तर सहयोग र समन्वय भएका कारण निर्वाचनलाई सुव्यवस्थित बनाउन सकिएको बताए ।
प्रजिअ गेलालले निर्वाचनको प्रक्रियाका रुपमा रहेको मतगणना कार्य र विजय उत्सवका कार्यक्रमहरूमा समेत संयम, अनुशासन र शालीनता कायम राख्दै शान्ति सुरक्षालाई थप मजबुत बनाउन पनि आग्रह गरे ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनले कुनै पनि स्थानमा मतदान कार्य प्रभावित हुनेगरी गतिविधि नभएको दाबी गरे ।
डीआईजी घिमिरेले ओखलढुंगाको मानेभञ्ज्याँङमा रहेको एउटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरू मतदान कार्यका लागि बसिरहेपनि मतदाता नआएको बताए ।
कोशी प्रदेशमा २८ वटा प्रत्यक्ष सिटमा निर्वाचन गर्न १९०७ मतदान स्थल कायम गरिएका थिए । जहाँ ४ हजार २७० वटा मतदान केन्द्र तोकिएका थिए ।
निर्वाचन आयोगले बिहीबारको मतदानका लागि कोशीमा ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम गरेको थियो ।
View : 67
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved