बिर्तामोड । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई लक्षित गर्दै १५औं महाधिवेशनको निष्पक्षताका लागि आफू जुनसुकै व्यवस्था गर्न तयार रहेको तर भागबण्डा र समानान्तर गतिविधि भने स्वीकार नगर्ने सन्देश दिएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा आयोजित पार्टीको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले केही नेताहरूको असन्तुष्टि स्वाभाविक भए पनि त्यसको समाधान निष्पक्ष प्रक्रिया र संस्थागत व्यवस्थाबाट खोजिनुपर्ने बताए ।
‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ । मेरो अत्यन्त सम्मानित नेताहरू हुनुहुन्छ । उहाँहरू सबैलाई मैले हात जोडेर भनेको छु– यो १५औं महाधिवेशनको निष्पक्षताका लागि जे गर्नुपर्ने हो, म सबै गर्न तयार छु,’ उनले भने ‘को मान्छे राख्ने हो भन्नुस्, जसलाई भन्नुहुन्छ उसको नेतृत्वमा सदस्यता छानबिन समिति बनाइदिन्छु । निर्वाचन समितिमा कसलाई राख्ने हो भन्नुस्, जसलाई भन्नुहुन्छ उसैलाई राखेर निर्वाचन समिति बनाउँछु । तर, १४औं महाधिवेशनको सबै कुरा ल्याएर अहिले मिसाउनुपर्छ भन्नुहुन्छ भने क्षमा गर्नुहोला, त्यो म गर्न सक्दिन ।’
सभापति थापाले अहिलेको संरचनाभित्र फेरि अर्को शक्ति केन्द्र निर्माण गर्ने प्रस्ताव विधान र राजनीतिक दुवै हिसाबले अस्वीकार्य रहेको बताए ।
‘अहिलेको कमिटीभित्र फेरि अर्को कमिटी ल्याएर भाग मिलाउनुपर्छ भन्ने माग मान्न सकिदैन । त्यो विधानले पनि मिल्दैन, राजनीतिले पनि मिल्दैन,’ उनको भनाइ थियो ।
सम्बोधनका क्रममा थापाले विशेष महाधिवेशन र त्यसपछि विकसित विवादलाई पनि स्मरण गरे ।
अदालतले विशेष महाधिवेशन अवैध ठहर गरेको भए आफूहरू पुरानो समितिको पुनस्र्थापना स्वीकार्न तयार रहेको उल्लेख गर्दै उनले अहिले असन्तुष्ट नेताहरूले उठाइरहेको भागबण्डाको मागप्रति उनले कटाक्ष गरे ।
‘विशेष महाधिवेशन भयो । पार्टीबारे हामी अदालत गयौं । अदालतले त्यो दिन विशेष महाधिवेशन अवैध भनिदिएको भए १४औं महाधिवेशनको समिति पुनस्र्थापित हुन्थ्यो,’ उनले भने ।
त्यस्तो अवस्था आएको भए आफू र तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले पद छाडेर तत्काल नयाँ महाधिवेशनको पक्षमा उभिने बताए ।
‘त्यो समितिले मलाई र विश्वप्रकाश शर्मालाई कारबाही गरेको थियो । तर, कारबाही फुकुवा गरिदिएपछि हामी के गथ्र्यौं भने अदालतको निर्णय मान्थ्यौं, महामन्त्रीबाट राजीनामा दिन्थ्यौं र तुरुन्त १५औं महाधिवेशन गर भन्न पार्टीका साथीहरूमाझ जान्थ्यौं । यति प्रतिशत भाग देऊ, उति प्रतिशत भाग देऊ भनेर वार्ता गरेर बस्दैनथ्यौं ।’
थापाले आफ्नो अभियान पुरानो पुस्ताविरुद्ध नभएको स्पष्ट गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको तर्क गरे । त्यसक्रममा पुराना नेताहरूको कार्यशैली र सोचप्रति उनले दिक्दारी पनि प्रकट गरे ।
‘२५–३०–४० वर्षमा तपाईहरू पटक–पटक सांसद बन्नुभयो, मन्त्री बन्नुभयो, उपप्रधानमन्त्री बन्नुभयो, जिम्मेवारी पाउनुभयो,’ उनले भने ‘तर अहिले हाम्रा भाइहरू, छोराछोरीहरूको पुस्ताले एकपटक कांग्रेस चलाएर देखाउँछन् भनेर आशीर्वाद दिन नमिल्ने हो ? ठिक छ, जाऊ तिमीहरू अगाडि बढ, हामी पछाडि छौं भनेर भन्न नमिल्ने हो ?’
झापाकै नेता कृष्णप्रसाद सिटौलाको नाम लिएर उनले कुनै नेताको अपमान गर्ने, पुरानो पुस्ताको सम्मान नगर्ने संस्कार आफूहरूसँग नभएको उल्लेख गर्दै उनले भने ‘कृष्णप्रसाद सिटौलाप्रति मेरो श्रद्धा छ । उहाँले मलाई धेरै कुरा सिकाउनुभएको छ । म उहाँप्रति कृतज्ञ नै छु । तर, उहाँलाई प्रतिशोधमा होइन विधानअनुसार राष्ट्रियसभा दलबाट हटाइएको हो ।’
महाधिवेशन तयारीसँगै सदस्यता अद्यावधिकको विषयमा पनि थापाले कडा सन्देश दिए ।
पार्टीले व्यक्तिगत सम्बन्धका आधारमा होइन, विधि र प्रणालीका आधारमा सदस्य चिन्नुपर्ने उनको भनाइ थियो ।
‘तपाईहरूमध्ये कसैले अध्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला । अध्यावधिक नभएको साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यको रूपमा चिन्दैन,’ उनले भने । सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरू वडादेखिको निर्वाचन प्रक्रियामै समावेश नहुने उनको स्पष्ट चेतावनी थियो ।
‘अब उहाँहरूलाई सिस्टमले चिन्दैन । मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल गर्छु, सम्मान गर्छु । तर सिस्टमले चिन्दैन,’ उनले भने ।
उनले थपे ‘वडाको अधिवेशन सुरु हुँदा अध्यावधिक नभएको साथीको नाम निर्वाचन प्रतिनिधिले बोकेको कपीमा आउँदैन । सिस्टममा आउँदैन, चिनिन्न ।’
पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्ने प्रयासस्वरूप थापाले आगामी महाधिवेशनमा कसैप्रति विभेद नहुने दाबी गरे । ‘१५औं महाधिवेशन सबैको महाधिवेशन हो, हुनेछ’ उनले भने ।
सभापति थापाले कांग्रेसको संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । अहिले पार्टी माथिल्लो नेतृत्वतर्फ केन्द्रित भएको भन्दै उनले शक्ति केन्द्रलाई कार्यकर्तातर्फ फर्काउनुपर्ने बताएका छन् ।
‘सबै माथितिर फर्केका छन् । वडाले क्षेत्रलाई हेर्छ, क्षेत्रले जिल्लालाई हेर्छ, जिल्लाले प्रदेशलाई हेर्छ, प्रदेशले केन्द्रलाई हेर्छ, केन्द्रले सभापतिलाई हेर्छ,’ उनले भने ‘अब यसलाई उल्ट्याउनु पर्नेछ । पार्टीलाई तलतिर फर्काइदिनु पर्नेछ ।’
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved