विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डी फ्रिज तथा कृषक समूहलाई सिंचाइ मोटर वितरण गरेको छ ।
महानगर परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारको ‘मिट मार्ट’ कार्यक्रमअन्तर्गत सशर्त अनुदानमार्फत मापदण्ड पूरा गरी सञ्चालनमा रहेका सात वटा मासु पसललाई डी फ्रिज हस्तान्तरण गरिएको हो ।
महानगरको कृषि तथा पशुपन्छी शाखाका प्रमुख हिरालाल यादवका अनुसार आधुनिक भण्डारण प्रणालीमार्फत मासुको गुणस्तर, स्वच्छता र सुरक्षा सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय मासु उपलब्ध गराउने लक्ष्यसहित डी फ्रिज वितरण गरिएको हो ।
उनका अनुसार चिस्यान व्यवस्थापन प्रभावकारी हुँदा मासु लामो समयसम्म सुरक्षित रहने, खाद्यजन्य जोखिम न्यून हुने तथा व्यवसायीले स्वच्छ र व्यवस्थित सेवा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी महानगरले ५० प्रतिशत अनुदानमै विभिन्न वडामा सक्रिय कृषक समूहलाई ३८ वटा सिंचाइ मोटर उपलब्ध गराएको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले डी फ्रिज र सिंचाइ मोटर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले महानगरबाट उपलब्ध गराइएका डी फ्रिज र सिंचाइ मोटरको प्रभावकारी तथा जिम्मेवार प्रयोग गर्न आग्रह गरे ।
आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले विशेषगरी आकाशे पानीमा निर्भर किसानका लागि सिंचाइ मोटर उपयोगी हुने उल्लेख गर्दै समयमै रोपाइ र खेती गर्न सके उत्पादन तथा उत्पादकत्व दुवै बढ्ने धारणा राखे ।
महानगरका अनुसार विराटनगरभित्र करिब १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन छ ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved