Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

उद्‌घोष संवाददाता
३१ भदौ २०८१, सोमवार

Advertisement

 धनुषा, ३१ भदौ । मधेश प्रदेशको चार जिल्लामा रु आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो ।

केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो ।

यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् । हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए ।

“हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ”, उनले भने ।

कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला–बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।

यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ ।

सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१ दशमलव २० किमी लामो फुलजोड–त्रिभुवन नगर सडक तथा ४० दशमलव ३७ किमी लामो शितलपुर–मलङ्गवा–खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर–मलङ्गवा तथा ४० दशमलव ५८ किमी लामो नयाँ रोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् । रासस

View : 438

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved