Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

टी–२० विश्वकप

‘अन्तिम ओभरमा साँच्चै हामी नर्भस भएका थियौं’

उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

विराटनगर । लामो समयको प्रतीक्षा पछि ‘वाङ्खेडे ड्रिम’ पूरा गरेको खेलमा नेपाली क्रिकेट टोली इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

वाङ्खेडे रङ्गशालालाई घरेलु मैदानको भाव दिने गरी उपस्थित नेपाली दर्शक सामु टी–२० विश्वकप २०२६ को पहिलो खेल खेलिरहेको नेपालले सुरुमा बलिङ मार्फत केही लोभलाग्दो विकेट लिएको थियो । तर दुई पटक विश्व च्याम्पिअन बनिसकेको इंग्ल्यान्डसामु जीतका लागि त्यो पर्याप्त हुन सकेन । 

ब्याटिङमा नेपालको प्रदर्शन ठिकठाक मात्र रह्यो । केही मिठा बाउन्ड्रीको आकर्षणले दर्शकलाई मज्जाले झुमायो । इंग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्न आएको नेपाल १८० रनमा पुगेर रोकिन पुग्यो ।

मैदानमा नेपाल कुनै पनि बेला असमान प्रतिद्वन्द्वी जस्तो देखिएन । तर अन्ततः इंग्ल्यान्डको अनुभव सामु नेपाली टोली टी–२० विश्वकप २०२६ को पहिलो हार स्विकार्न वाध्य हुनपुग्यो ।

दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले तेस्रो विकेटको लागि बनाएको ८२ रनको साझेदारीले नेपाललाई विजयको आशा जगाएको थियो । ऐरीले नेपालका लागि महत्वपूर्ण ४४ रन जोडे । यो रनसँगै उनी टी–२० मा २,००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।

तर दुई ओभरका बीचमा यी दुई खेलाडी आउट भएपछि खेलले अर्के मोड लिन पुग्यो । दीपेन्द्र १५ औं र रोहित १६ औं ओभरमा आउट भएका थिए । रोहितले ३४ बलमा ३९ रन बनाएका थिए । 

त्यसपछि लोकेश बम र आरिफ शेखले वातावरण बनाए । लोकेशले १८ औं ओभरमा ३ छक्का ठोकेपछि खेल रोमाञ्चक बन्यो । लोकेश यतिमै रोकिएनन् । विपक्षी टिम पूरा दवावमा आइसकेको थियो । लुक उडले १९ औं ओभरमा ३ वाइड फ्यालेका थिए । यो ओभरमा नेपालले १४ रन लियो ।

अब खेल जित्न नेपाललाई अन्तिम ओभरमा १० रन चाहिने भयो । तर नेपालले ४ रन मात्र जोड्न सक्यो । पाँचौ बलमा छक्का हान्न नसकेपछि लोकेशले अन्तिम बलमा स्ट्राइक आफैसँग राखेका थिए ।

तर उनले छक्का भने हान्न सकेनन् । र नेपाल हार बेहोर्न पुग्यो । यो यस्तो हार थियो, जसले नेपालले २ वर्ष अगाडि दक्षिण अफ्रिकासँगको हार ताजा गराएको छ । लोकेशले २० बलमा ३९ रन बनाए ।

खेलपछिको पत्रकार अन्तक्र्रियामा इंग्ल्यान्डका विल ज्याक्सले अन्तिम ओभरमा आफू नर्भस भएको बताए । ‘साँच्चै हामी नर्भस भएका थियौं । तर साम करनको बलिङमा विश्वास पनि थियो,’ उनले भने ।

उनले नेपाली खेलाडीहरूको प्रशंसा समेत गरे । भने, ‘नेपाली खेलाडीहरूले राम्रो खेले । रनिङ विटविन द विकेटमा झन् राम्रो थियो । म भन्छु टेस्ट र असोसिएट राष्ट्रबीचको भिन्नता साँघुरो बनेको छ ।’

पत्रकार सम्मेलनमा उपस्थित भएका नेपाली बलर नन्दन यादवले आफू खुशी र दुखको मिश्रित भावमा रहेको बताएका छन् ।

पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘मिक्स फिलिङ छ । हामीले हातमा आइसकेको खेल जित्न सकेनौं । त्यसमा दुःखी छु । तर टेस्ट राष्ट्रलाई चुनौती दिन सकिरहेका छौं । त्यसमा खुसी छु ।’

किन अन्तिम बल पर्खेको ?

अन्तिम बलमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । तर पाँचौ बलमा लोकेश बमको प्रयास सफल भएन । उनलाई एक रन लिने मौका भने थियो । तर उनले रन नलिई अन्तिम आफै हान्ने मनस्थितिले क्रिजमै रहे ।

यस्तो किन गरेको भन्ने प्रश्नमा बमले भने, ‘मलाई लागेको थियो साम करनले कुनै न कुनै बल मिस गर्नेछ र छक्का हान्नेछु । तर सकिनँ । धेरै दुखी छु ।’ 

नेपालको बलिङ अनुशासित देखिएको थियो । फिल्डिङ भने त्यति चुस्त रहेको देखिएन, जुन नेपाली क्रिकेटको एक शक्तिको रूपमा परिचित थियो ।

शेर मल्लको ‘ड्रिम डेब्यू’

शेर मल्लको विश्वकपको पहिलो खेल स्वर्णिम बन्न पुग्यो । पहिलो विश्वकप खेलिरहेका उनले पहिलो बलमा नै पहिलो विकेट लिएर गजबको कीर्तिमान बनाए । उनको बलमा लामो शट् खेल्ने धुनमा रहेका फिल सल्ट ‘एज’ लागेपछि सन्दीप लामिछानेबाट समातिन पुगेका थिए ।

नेपालले हालैको नेपाल प्रिमिअर लिगमा राम्रो प्रदर्शन गरेका मल्ललाई समेट्दै इंग्ल्यान्ड विरुद्धको खेलको लागि ११ सदस्यीय टोली घोषणा गरेको थियो ।

एनपीएल सिजन २ मा लुम्बिनी लायन्सलाई जिताउन अहम् भूमिका खेलेर नेपाली टोलीमा परेका शेरले अभ्यास खेल र वार्मअप म्याचमा पनि राम्रो प्रदर्शन गरेका थिए ।

एनपीएलमा १७ विकेट लिएर इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका शेरले पहिलो खेलको पहिलो बलमा इंग्ल्यान्डका ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच गराए ।

मिस्ट्री बलरको पहिचान बनाएका यी युवा स्पिनरले वाङ्फेडे रङ्गशालाको रातो माटो पिचमा राम्रो बल घुमाउने आंकलन गरिएको थियो ।

नेपालको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी भने पहिलो रोजाइमा पर्न सकेनन् । प्रशिक्षक स्टुअर्ट लले तीव्र गतिका बलरका रूपमा करण केसी र युवा बलर नन्दन यादवलाई रोजेका थिए ।

त्यस्तै सन्दीप जोरा पनि पहिलो रोजाइमा परेनन् । मध्यक्रममा आरिफ शेख सँगै लोकेश बमले मौका पाए । अनुमान गरिएजस्तै ललित राजवंशी पनि पहिलो रोजाइमा परेनन् । –एजेन्सीको सहयोगमा

View : 135

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved