Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लोहन्द्रा खोला उत्खननमा मनपरि, ठेकेदारलाई कारवाही गर्ने तयारी

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । मोरङको कटहरी र धनपालथान गाउँपालिकाको सिमानामा रहेको लोहन्द्रा खोला दोहन भएको तीनै तहका प्रतिनिधि सहभागी बैठकले निस्कर्ष निकालेको छ । 

धनपालथान गाउँपालिकाले खोलाको बगरबाट माटो र बालुवा निकाल्न ठेक्का लगाएको थियो ।

दुबै पालिका र प्रदेश सरकारलाई प्राप्त हुने गरी ठेक्का लगाइए पनि खोलाको बगरमा जथाभावी तरिकाले खनिएको, उपकरणको प्रयोग गरिएको लगायत निर्णय गर्दै बैठकले कारवाहीका लागि सिफारिस गरेको बताइएको छ ।

कटहरी गाउँपालिकाले गत बुधबार खोलाबाट एउटा ट्याक्टर र माटो काट्ने उपकरण नियन्त्रणमा लिएर खोलाको अनुगमन गरेको थियो ।

अनुगमनपछि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ठाउँमा १० फिटसम्म गहिरो बनाएर उत्खनन् गरेको, सम्झौता बिपरित मेसिनरी उपकरणको प्रयोग गरेको र अब्यवस्थित उत्खनन् गरेको निस्कर्ष निकालेको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कटहरीका उपाध्यक्ष सीता राजवंशी, प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी उपरीक्षक विश्वबन्धु खड्का, अनुसन्धानका जिल्ला प्रमुख तिलक शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहलगायतले निस्कर्षमा हस्ताक्षर गरेका छन् ।

माटो उत्खनन गर्नेलाई भने कार्यपालिकाको बैठकले निर्णय गरेर कारवाही गरिने अध्यक्ष चौधरीको भनाई छ ।

उनका अनुसार खोलाको भरोट (माटो) उत्खननमा प्रयोग भएका उपकरणलाई घटीमा एक लाख रुपैयाँसम्म जरिवाना गरेर साधान जफत गर्न सक्नेसम्म कानुनी प्रावधान छ । यसअघि पनि मेसिनरी उपकरणको प्रयोग गरेर उत्खनन् भएकाले चेतावनी दिएर छाडिएको बताउँदै अध्यक्ष चौधरीले गल्ती गर्ने पटकेलाई तेब्बरसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको जानकारी दिए ।

जथाभावी उत्खनन् भएको गुनासो आएपछि उपाध्यक्षको नेतृत्वमा अनुगमन गरिएको थियो । त्यसपछि तिन वटै सरकारका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेर निस्कर्ष निकालेको चौधरीले बताए ।

ठेकेदारका प्रतिनिधि सञ्जय मण्डलले भने सम्झौता अनुसार नै भरोट निकालिएको र पालिकाले ढिलो गरी लगाएको ठेक्कामा सरकारलाई राजश्व बुझाएर नियमको पालना गर्दै उत्खनन् गरेको दाबी गरेका छन् ।

View : 239

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved