विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संस्थालाई निरन्तरता दिने असल नेतृत्वको अभाव खड्किन थालेको बताएका छन् ।
सोमबार विष्णुमाया पुस्तकालय विराटनगरको ५७ औं साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थासम्म सो पुस्तकालयले पाएको असल नेतृत्वको प्रशंसा गर्दै निरन्तरताको कामना समेत गरेका थिए ।
उनले विकास केवल संरचना निर्माण मात्र नभएर मानसिक विकास पनि भएकोले मानवलाई महामानव बनाउने अन्तरनिहित क्षमता हुने पुस्तकालयको महत्व रहेको बताए ।
यसै प्रसंगमा उनले मानिसको बस्ती नभएको ठाउँमा पक्की सडक बनाउनुको कुनै औचित्य नभएको जिकिर गर्दै त्यस्ता ठाउँमा पदमार्ग निर्माण गरेर पर्यटनमा जोड दिएको उनको बताए
प्राध्यापक कृष्ण पोखरेलले विष्णुमाया पुस्तकालयमा युवा पुस्ताको सहभागिता बढाएर आधुनिकीकरणमा जोड दिनुपर्ने बताए ।
प्राडा खगेन्द्र आचार्यले विराटनगरका क्याम्पसदेखि निजी क्षेत्रका पुस्तकालयहरुको अवस्था नाजुक रहेको भए पनि विष्णुमाया पुस्तकालय मात्र नियमित सञ्चालनमा रहेकोले नेतृत्वको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा उद्योगी भीम घिमिरे, समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, प्राध्यापक कविराज न्यौपाने, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख डा बावुराम तिम्सिना, डा चन्द्र तिम्सिना लगायतले पुस्तकालय सञ्चालनका विषयमा महत्वपूर्ण सुझाव दिएका थिए । पुस्तकालयका अध्यक्ष केशव गौतमले पुस्तकालय स्थापनादेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सो साधारणसभा सहभागी विराट राजवंशी साँस्कृतिक पुस्तकालयका विराटनगर–१२ अध्यक्ष कुशेश्वर विराटराजवंशीले विष्णुमाया पुस्तकालय विराटनगरको एक विशिष्ठ संस्था भएकोले सो पुस्तकालय सिक्न र ज्ञान लिनका लागि महत्वपूर्ण थलो भएको बताए ।
View : 124
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved