विराटनगर । सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैया“ धरौटी बुझाएर छुटेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुस ४ गते पक्राउ गरेको थियो ।
सीआईबीका अनुसार अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार धरौटीमा छाडिएको हो ।
उक्त कानुनी व्यवस्थाले अनुसन्धान अधिकारीलाई सरकारी वकिलको सहमतिमा वा कारणसहितको पर्चा खडा गरेर हिरासतमा रहेका व्यक्तिलाई धरौटी वा जमानतमा छाड्न सक्ने अधिकार दिन्छ ।
नेपाल धितोपत्र बोर्डले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो ।
बोर्डको प्रारम्भिक प्रतिवेदनअनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गर्दा भ्रामक सूचना सार्वजनिक गरेका थिए ।
धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको आरोप छ ।
अग्रवालले अन्य टीएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको पनि प्रतिवेदनमा उल्लेख छ ।
बोर्डले झूटो कारोबार र मूल्य प्रभावित पार्ने अपराध गरेको देखिएको भन्दै प्रहरीलाई कारबाहीको सिफारिस गरेको थियो । यसअघि पनि अग्रवाललाई ठगी कसुरमा पक्राउ गरिएको इतिहास छ ।
View : 96
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved