झापा : आफ्नो ५० औं जन्मदिनको अवसर पारेर झापा मेचीनगर–१२ का समाजसेवी राजन चिमरियाले सहिद परिवारलाई गाई र दुर्घटनापछि निधन भएका परिवारका सन्तानलाई पठनपाठन खर्च प्रदान गरेका छन् ।
चिमरियाले तेह्रथुमको बगालेमा सहिद भएका प्रेम उप्रेतीका परिवारलाई बजार मूल्य ६५ हजार पर्ने ब्याउने गाई दिएका हुन् । आफूले घरमा हुर्काएको होलिस्टेन जातको गाई चिमरियाले बिहीबार मेचीनगर–१३ स्थित सहिद उप्रेतीको घरमै लिएर पुगेका थिए ।
चिमरियाले सहिद प्रेम उप्रेतीका बुवा गंगा र आमा लक्ष्मीमाया उप्रेतीलाई गाइ हस्तान्तरण गरेका थिए । उनले दुई महिनापछि ब्याउने गाईसँगै ५ हजार १ सय रुपैयाँ नगद पनि उप्रेती परिवारलाई प्रदान गरेका थिए ।
सहिद उप्रेती परिवारलाई राज्यले वेवस्ता गरेको परिवारले गुनासो गर्दै आएका छन् । आफूले जन्मदिन र बैवाहिक वर्षगाँठको अवसरमा उत्पादन क्षेत्रमा सहयोग गर्ने योजनानुसार समाज र देशकै लागि योगदान दिएर सहिद भएकाको परिवारलाई गाई हस्तान्तरण गरेको चिमरियाको भनाइ थियो ।
त्यसैगरी अल्पायुमै निधन भएका झापा मेचीनगर–१० स्थित सगरमाथा टोलका नरेश राजवंशीको छोरीको पठानपाठनका लागि ५१ हजारको चेक प्रदान गरेका छन् । मृतक नरेशको ६ वर्षीया छोरीको राम्रो शिक्षाका लागि आफै संरक्षक रहेर ५१ हजारको अक्षयकोष निर्माण गरेको उनले बताए ।
नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष चिमरियाले कोभिड महामारीको समयमा दीर्घरोगीलाई घरघरमा औषधि बितरण, अग्नि, भूकम्प, बाढीपीडितलाई राहत प्रदान, गरिब तथा बिपन्नलाई गाँस र बासको ब्यवस्था, अनाथलाई घरका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved