लिस्बन, २५ भदौ । पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् ।
फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिएका हुन्
घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।
शिविरबाट दुई लाख ४६ हजार छ सय ४० युरो अर्थात् तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले राससलाई बताए ।
घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिएका थिए ।
दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो ।
घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।
घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ ।
घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताए ।
आगामी दिनमा पनि राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्या देखा परेको खण्डमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि पुनः घुम्ती टोलीको व्यवस्था गरिने उनले बताए ।
यसअघि पोर्चुगलमा रहेका नेपालीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा नपाउँदा सास्ती खेप्नुपरेको समाचार राससमार्फत् संप्रेषण भएको थियो ।
गत महिना पनि राहदानी विभाग काठमाडाैँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो । रासस
View : 197
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved