विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापा २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी निरीक्षक थापाले कोशी अस्पताल विराटनगरबाट भागेका एक कैदीलाई पक्राउ गर्न सफल भएका थिए । उपचारका क्रममा अस्पतालमा रहेका कैदी २४ वर्षीय मोहमद अहमद गत साउन १७ गते शौचालय जाने क्रममा फरार भएका थिए ।
थापाले साउन २४ गते उनलाई मोरङको जहदा गाउँपालिका –१ तारेगामास्थित नेपाल भारत सीमा नाका नजिकबाट पक्राउ गर्न सफल भएका थिए ।
विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय अहमद् जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए । पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल विराटनगरमा उपचार गराइरहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा फरार भएका थिए ।
त्यसैगरी उनले लागू औषध ओसारपसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैयाँ बराबरको सामान बरामद गर्न सफल भएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनोट गरी पुरस्कृत गर्दै आईरहेको जनाइएको छ ।
View : 122
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved