विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सोमबार अपरान्ह विराटनगरस्थित कोइराला निवासमा थिए । भदौ २४ को प्रदर्शनका क्रममा शर्माको झापा धुलाबारीस्थित घर, ललिलतपुरस्थित डेरा दुवै जलाइएको छ ।
प्रदर्शनकारीले नै जलाएको कोइराला निवास हेर्न उनी सोमबार काठमाडौंबाट विराटनगर आएका थिए ।
‘पिताजी कृष्णप्रसाद कोइरालाले बनाउनु भएको ऐतिहासिक घर जल्दा ज्यादै दुःख लागेको छ,’ महामन्त्री शर्माले भने ‘जेनजीका सपना नयाँ छन् मान्छु । तर, नयाँ सपना देख्दै गर्दा यस्ता पुराना र ऐतिहासिक घरहरु जलाउनु किन ? त्यसैले आन्दोलनमा घुसपैठ भएको छ । यसको छानबिन हुनुपर्छ ।’
नेपाली राजनीतिका शिखर नेतृत्वका रुपमा सम्झिइने बीपी कोइराला र मुलुकलाई शान्ति प्रक्रियातिर डो¥याउने नेतृत्वकर्ता गिरिजाप्रसादको घर कोइराला निवासको कोठाकोठा नियालेर शर्माले सोधीखोजी गरे ।
त्यसक्रममा कोइराला निवासमा उपस्थित नेता–कार्यकर्तामाझ शर्माले रुपान्तरित कांग्रेस बनाउने उद्घोष पनि गरेका छन् ।
जेनजी आन्दोलनलगत्तै महामन्त्रीहरु गगन थापा र शर्माले कांग्रेस रुपान्तरणका पक्षमा आफूलाई उभ्याएका छन् । दुवैले सडकमा अभिव्यक्त भावनाको सम्मान कांग्रेसले आफूलाई रुपान्तरण गरेर गर्नुपर्ने बताउँदै आएका छन् । महामन्त्री शर्माले विराटनगरमा पनि त्यही कुरा दोहो¥याए ।
‘म आज कोइराला निवासको यो माटोमा उभिएर भन्छु, हामी नयाँ ढंगले आउनेछौं । कांग्रेस सुधार्नेछौं, मुलुकको अवस्था संहाल्नेछौं । मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं ।’
पार्टीमा रुपान्तरण अपरिहार्य रहेको दोहो¥याउँदै उनले यही मंसिरसम्ममा महाधिवेशन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने उल्लेख गर्दै उनले भने ‘मंसिर मसान्तसम्म अहिलेकै कार्य समितिको कार्यकाल हो, अब यसको कार्यकाल थप नगरौं ।
अहिले क्रियाशील सदस्यता नवीकरण भइरहेको छ, वितरण पनि खुला गरेर महाधिवेशनमा जानुपर्छ ।’
तत्कालै महाधिवेशनमा जान नहुने मत पनि पार्टीमा रहेको भन्दै उनले केन्द्रीय समिति बैठकबाट साझा धारणा बन्ने जानकारी दिए ।
अहिलेको अवस्था आउनुमा आफूहरुको पनि कमजोरी रहेको भन्दै शर्माले थपे ‘मौजुदा जे अवस्था छ, यो आउनुमा हाम्रो पनि कमजोरी छ । त्यसमा हामीले आत्मालोचना गर्नुपर्छ । क्षमायाचना गर्नुपर्छ । कांग्रेस धेरै पुस्तालाई गाँसेर जाने पार्टी हो । जेनजी पुस्ताको बलिदान, मन भावना सबैलाई समटेर अघि लैजान रुपान्तरित कांग्रेस अबको आवश्यकता हो भन्ने मत मुलुकव्यापी रुपमा छ ।’
महामन्त्री गगन थापा र शर्माले महाधिवेशनमा जाने भनेपछि पूर्व पदाधिकारीहरु उनीहरुविरुद्ध मोर्चाबन्दीमा जुटेका छन् । त्यसतर्फ संकेत गर्दै शर्माले कांग्रेसमा आ–आफ्नो मत राख्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै केन्द्रीय समिति बैठकबाट साझा धारणा निर्माण हुने उल्लेख गरे ।
प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा अस्पतालमा रहेका बेला महाधिवेशनको कुरा निकालिएको भन्दै महामन्त्रीहरुविरुद्ध अभिव्यक्ति दिएका थिए ।
त्यसबारे महामन्त्री शर्माले अहिले आफूहरुका लागि सभापति देउवाको स्वास्थ्यलाभ र कांग्रेसको स्वास्थ्यलाभ दुवै उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
‘कांग्रेसले आफैलाई तन्नेरी बनाउनु छ । पार्टीलाई तरुण बनाउन घनीभूत छलफल हुन्छ, हुनुपर्छ,’ उनले भने ‘यसका लागि सबैका मत एकैठाउँ राखेर हामी समन्वयमा गर्छौं । जहाँसम्म सभापतिको स्वास्थ्योपचारका बेला कुरा आयो भन्ने छ ।
निश्चय नै हामी सभापतिज्यूको स्वास्थ्यप्रति संवेदनशील छौं । स्वास्थ्यलाभको कामना गरिरहेका छौं । लगातार सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझिरहेका छौं । जसरी हाम्रा लागि सभापतिको स्वास्थ्यलाभ महत्वको कुरा छ, त्यत्तिकै कांग्रेसको स्वास्थ्यलाभबारे पनि संवेदनशील छौं ।’
सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको पैसाका विषयमा पत्रकारहरुले सोधेपछि उनले यस विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
‘यो विषयमा वस्तुगत अनुसन्धान राज्यले नै गर्नुपर्ने छ, सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभाग लगायतका राज्यका निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्’ उनले भने ‘निष्पक्ष रुपमा भएको अनुसन्धानको तहतबाट आएको जे विषय हुन्छ, त्यो विषयलाई हामी सबैले मानेर जानुपर्छ ।’
आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण पनि गराएको उनले बताए ।
View : 495
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved