विराटनगर । मोरङको कटहरीका शिक्षित युवालाई लक्षित गरेर लोकसेवाको ४५ दिने तयारी कक्षा सुरु भएको छ । कटहरी गाउँपालिकाको आयोजनामा मंगलबारबाट सुरु भएको तयारी कक्षामा ८९ जना युवा सहभागी छन् ।
कटहरी–३ को जनप्रिय माध्यमिक विद्यालयमा सुरु भएको पहिलो दिनको कक्षामा मोरङका साहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले विद्यार्थीलाई तयारी कक्षाको औचित्य र परिचयात्मक कक्षा सञ्चालन गरेका थिए ।
नेपालको प्रशासनिक क्षेत्रमा गाउँपालिकाबाट दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बताए । तयारी कक्षामा सहभागी हुन पालिकाले खुल्ला सूचना आह्वान गरेको थियो ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीले विगतमा पूर्वाधार निर्माण शीर्षकमा बढी बजेट खर्चिनुपरेकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न नसकिए पनि आउँदा दिनमा पालिकाले यस प्रकारका कक्षाहरूलाई निरन्तरता दिने बताए । तयारी कक्षामा पालिकाभित्रका ७ वटै वडाका शिक्षित युवाहरू सहभागी छन् ।
View : 419
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved