Biratnagar, Morang, Nepal
८ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले र राप्रपाद्वारा बैठकमै विरोध : ‘बजेट पास गर्नुपर्छ भन्ने के जरुरी छ ?’

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८०, बुधवार

विराटनगर : मंगलबार कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमाथिको छलफलका क्रममा एमालेले बैठकमै विरोध जनाएको छ । हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा उल्लेखित योजनाहरु सहमति विपरित कटौति गरेको भन्दै एमालेले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएको हो ।

बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । विरोधका कारण बैठक संचालन गर्न अप्ठेरो भएपछि सभाको अध्यक्षताको आसनमा रहेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले प्रमुख विपक्षी दल एमालेलाई बोल्न समय दिए ।

एमाले संसदीय दलका उपनेता राम रानाले मुख्यमन्त्री कार्कीसँग भएको समझदारी विपरित योजनाहरु कटौति भएकोले विरोध दर्ता गराउनु परेको बताए । उनले सांसदहरुबाट आएको मागलाई नै बजेटको रुपमा राख्ने सहमति भएको दाबी गरे ।

‘सांसदहरुको क्षेत्र विकास कोषमा दुई करोड भनेर छुट्याएकै थियो, त्यसलाई परिमार्जन गरेर डेढ करोड भन्ने भयो, मानियो, कता कता बहुबर्षीयमा पनि बजेट थप्नु पर्छ भन्नेमा सहमति भएकै हो’ रानाले भने, ‘बजेटका निम्ति हामीले आधार दियौं तर जसले आधार दियो त्यहाँ इमान्दार हुनुपर्छ कि पर्दैन भन्ने अहिलेको मुख्य प्रश्न हो ।’ 

सांसदहरुले प्राथमिकताका आधारमा नम्बर छुट्याएर योजनाहरु पेश गरेपनि रातो किताबमा आउँदा एक नम्बरको योजना नै काटिएको र तलका योजनाहरु कतैकतै राखेको पाइएको रानाले बताए ।

मुख्यमन्त्री कार्कीले सहमतिमा इमान्दार हुन नसकेको र तय भएको आधार भत्काउने काम गरेको उनले आरोप लगाए ।

‘चिटका आधारमा योजना आए, जहाँ राजनीति गर्न सकिन्छ त्यसैमा बजेट राखियो’ रानाको चेतावनी थियो, ‘खुइल्याउन सक्नेलाई तलैसम्म खुइल्याइयो, कसैको त छालै काडियो भन्ने आयो, भनेपछि हामीले यसलाई सन्तुष्ट भएर पास गर्नुपर्छ भन्ने के जरुरी छ भन्ने प्रश्न उठेको छ, यो प्रश्नको उत्तर विश्वासिलो ढंगले दिने मुख्यमन्त्रीलाई कुनै आधार छ कि छैन ?’

उनले सांसद भनेपछि जुनसुकै बजेट काट्नका लागि तयार भएका खेताला हुन् भन्ने मान्यता सरकारको भए बजेट फेल गर्दा के हुन्छ भन्ने ठहर रहेको बताएका थिए ।

View : 221

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved