Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

सन् २०२४ को टि-२० विश्वकपमा नेपाल

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

विराटनगर, १७ कात्तिक : नेपाल सन् २०२४ मा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले शुक्रबार भएको खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपको खेल सुरक्षित गरेको हो ।

नेपालले १० वर्षपछि यो स्थान फिर्ता ल्याएको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा १७ बल बाँकी हुँदै यूएईलाई पराजित गरेको हो । 

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपाललाई नतिजा आफ्नो पक्षमा पार्न आशिफ शेखको उत्कृष्ट ६३ रनको योगदान गरे । आशिफसँगै साझेदारी खेलका कप्तान रोहित पौडेल ३५ रनसहित नट आउट रहे ।

नेपालको जितमा गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडेका थिए ।

यूएईलाई निर्धारित २० ओभरको खेलमा नेपालले १३४ रनमा रोक्न सफल हुँदा जित सहज भएको हो । यूएईले ९ विकेटको क्षतिमा त्यो स्कोर खडा गरेको थियो ।

यूएईलाई रोक्न नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।

सोमपाल कामी र रोहित पौडेलले समेत एक-एक विकेट लिएका थिए ।

नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे । सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनको उत्कृष्ट बलिङ गरे । कुशल मल्लले पनि ३ ओभरमा ११ रनमात्रै खर्चिए ।

भृत्य अरविन्दले यूएईका लागि सर्वाधिक ६४ रन जोडेका थिए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे ।

यूएईलाई पराजित गरेसँगै नेपालले सन् २०२४ को जुन महिनामा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले सन् २०१४ मा पनि बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

यूएईलाई पराजित गर्दै विश्वकप खेल्न तयार भएको नेपालले आजै भएको अर्को खेलको विजेता ओमानसँग भने आइतबार किर्तिपुर क्रिकेट मैदानमा खेल्नुपर्नेछ । बिहीबार ओमानसँगको सेमिफाइन खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि ५ रनले पराजित हुनुपरेको थियो ।

यो छनौट खेलको फाइनलमा अब पुन: नेपाल र ओमान नै आमने सामने भएका हुन् ।

View : 220

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved