Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा फुटपाथ अतिक्रमण हटाउने तयारी

महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।
उद्‌घोष संवाददाता
९ वैशाख २०८३, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भएको बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ । 

महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन । 

निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । 

नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जय कुमारसिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समिति समेत गठन गरेको छ । 

समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । 

प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथप्रसाद भगत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

View : 264

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved