विराटनगर । कोशी प्रदेशमा पर्यटन पत्रकारिता र फोटोग्राफीको सम्भावनाबारे पत्रकारहरूलाई जानकारी दिन दुई दिने तालिम आयोजना गरिएको छ ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूलाई तालिम दिइएको हो । तालिममा कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरूको सहभागिता रहेको जनाइएको छ ।
सहभागीहरूलाई प्रशिक्षक यज्ञ शर्माले पर्यटन पत्रकारिता, विश्व ताम्राकारले फोटोग्राफी र लिलाराज भट्टराईले सञ्चार क्षेत्रमा प्रविधिको प्रयोगका बारेमा सहजीकरण गरेका छन् ।
तालिमको उद्घाटन कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री रामबहादुर मगरले गरेका हुन् । उनले पत्रकार र सञ्चार क्षेत्रकै सहयोगमा कोशी प्रदेशको पर्यटन प्रवर्द्धन भइरहेको भन्दै आगामी दिनमा सरकारले समेत थप सहयोग गर्दै जाने बताए ।
तालिमको उद्घाटनका क्रममा प्रेस चौतारीले अग्रज पत्रकार यज्ञ शर्मा, महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, इलामका पत्रकार भीम चापागाईं, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सचिव देवेन्द्र कार्की, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइराला, प्रेस चौतारी कोशी प्रदेश कमिटीका सचिव गणेश उप्रेती लगायत पत्रकारहरू बाबुराम भण्डारी, सुमन सुस्केरा, अम्बिका भण्डारी, नवराज बिष्ट, प्रवेश बिष्ट, अर्जुन राई, खगेन्द्र दुतराज र हिमाल दाहाललाई सम्मान गरेको थियो ।
मन्त्री मगरसहित नेकपा एमाले कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्षुमन तिवारी, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईंटेल, प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीका अध्यक्ष अविजाल बिष्ट लगायतले सम्मानित पत्रकारहरूलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही अवसरमा प्रेस चौतारी कोशी प्रदेश कमिटीले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।
तालिमको उद्घाटनका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल, समाजवादी पत्रकार संगठन कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, संसदीय पत्रकार मञ्च कोशी प्रदेश समितिका अध्यक्ष कुमार लुईंटेल लगायतले शुभकामना दिएका थिए ।
View : 243
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved