विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर, नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताएका छन् । कोशी प्रदेश योजना आयोगले बिहीबार आयोजना गरेको पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारका रुपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसको गुनासो गरे । उनले अबका दिनमा यस्तो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
सरकारको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सांसद सबैको हात हातमा पुर्याउन निर्देशन दिए । मुख्यमन्त्री कार्कीले उक्त आवधिक योजनालाई प्रदेश सरकारका कर्मचारी र सांसदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा सुझाव दिए ।
आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजनामात्र अगाडि बढाउनु पर्ने बताए । आगामी दिनमा सोही अनुसार अगाडि बढ्न पनि उनले आग्रह गरे ।
आर्थिक वर्ष २०८५/०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत रहेको छ ।
प्रदेश योजना आयोगले विहीबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५/८६ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन एक हजार ६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार २९९ थियो भने आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३३६ अमेरिकी डलर रहेको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका थिए । गत आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको जनाइएको छ ।
अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने प्रदेश सरकारले लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०८५/०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ बर्षको अनुमान गरिएको छ । मातृ मृत्युदर दर (प्रति लाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने उल्लेख छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ । मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।
आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने र विद्युत उत्पादन २२०० मेगावाट पुर्याउने अनुमान गरिएको छ ।
आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परिमाणात्मक लक्ष्य अनुसार कुल ग्राहस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्बमा पुर्याउने लक्ष्य रहेको छ । कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०८५/०८६ सम्ममा सेवा क्षेत्रको वार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ ।
प्रतिव्यक्ति कुल गार्हस्थ (उत्पादन उपभोक्ता मूल्यमा) १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ । कोशी प्रदेशको आर्थिक वर्ष २०८५/८६ सम्ममा २.१० प्रतिशत हुने अनुमान गरिएको छ ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले पञ्चवर्षीय आवधिक योजनाको मुख्य–मुख्य आयोजनाहरु प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच: ‘शुसासित, खुसी, आर्थिक रुपले गतिशील र सम्मुन्नत प्रदेश’ रहेको जानकारी दिए ।
उनका अनुसार आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्याय सहित नागरिकमा खुसी वृद्धि गर्ने रहेको बताए ।
प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी उपयोग गरी समृद्धि हासिल गर्ने, प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाई प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने बातावरण तयार गर्ने रहेको छ ।
View : 138
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved