विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बस्तीका बाढी पीडितहरूलाई कोशी प्रदेश सरकारले मंगलबार राहत सामग्री प्रदान गरेको छ ।
प्रदेश सरकारले बाढी पीडितहरूलाई फाइवर सिरक ५० थान, म्याट्रेस ५० थान, तन्ना ५० थान र सिरानी ५० थान हस्तान्तरण गरेको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी र खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले सोलु सदरमुकाम सल्लेरी पुगेर प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) लाई राहत सामग्री प्रदान गरेका हुन् ।
मन्त्री अधिकारीले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितहरूलाई पुनर्स्थापनाका लागि प्रदेश सरकारले पहल गर्ने बताए ।
मन्त्री कार्कीले बाढी प्रभावित थामे बस्तीमा खानेपानी आपुर्तिका लागि सर्वेक्षण गर्न प्राविधिक टोली पठाउने आश्वासन दिए ।
गत शुक्रबार खुम्बु क्षेत्रको थामे बस्तीभन्दा करिव सात किलोमिटर माथि रहेका दुईवटा हिमताल फुट्दा थामे खोलामा भीषण बाढी आएको थियो ।
अचानक आएको लेदो सहितको बाढीले थामे बस्ती बगरमा परिणत भएको थियो । थामे बस्तीका ५६ घर परिवार बाढीबाट बिस्थापित भएका छन् ।
वर्षायाममा पर्यटक नआउने भएका कारण थामे क्षेत्रका होटल संचालक र स्थानीय गाउँलेहरू गाउँ बाहिरै भएको र दिउँसोको समयमा बाढी आएका कारण ठुलो मानवीय क्षति हुनबाट टरेको थियो ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved