उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल बगाएपछिको दृष्य । फोटोभित्र बगाउनु अघिको पुल । तस्वीर : उद्घोष
विराटनगर । अविरल वर्षाका कारण उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल कोशीले बगाएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुलको आर्क नै कोशीको बाढीले बगाएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले जानकारी दिए ।
‘पुलको आर्क बगाएको जानकारी सुरक्षा निकायबाट आएको छ’ उनले भने, ‘आर्क नै बगाएपछि पुलको स्पान बाँकी रहने अवस्था नै बन्दैन ।’
सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी आर्क डिजाइनमा बनाइएको पुल १० वर्ष लगाएर निर्माण सम्पन्न भएको थियो ।
फोक्सिङटार पुलले उदयपुरको फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ जोडेको थियो ।
निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीले उदयपुरको घुर्मी बजार र ओखलढुङ्गाको हर्कपुर जोड्ने पक्की पुल समेत जोखिममा परेको छ ।
सुनकोशीको पानी अहिले उक्त पुलको माथिबाट बगिरहेको जनाइएको छ ।
घुर्मी पुल दुई दशक लगाएर निर्माण सम्पन्न भएको थियो ।
हेवाखोलाको बेलिब्रिज बगायो
यता मेची राजमार्ग अन्तरगत फिदिम-४ र हिलिहाङ-७ जोड्ने हेवाखोलाको बेलीब्रिज हेवाखोलामा आएको बाढीले बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।
बाढीले हिलिहाङतर्फको पिल्लर बगाएको बताइएको छ । गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाए पछि सोही स्थानमा अस्थाई ब्रिज बनाइएको थियो । ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ, याङवरक र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ ।
फेमोखोलाको पक्की पुल बगायो फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुल बगाएको छ ।
मेची राजमार्गको हेवा खोलामा बेली ब्रिज बगाएको केही समयमा नै फेमेखोलाको पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पुल बगेसँगै सदरमुकाम फिदिमबाट फिदिम-११, फिदिम-१२, फिदिम-१३ र फालेलुङ गाउँपालिका सँगको सम्पर्क टुटेको छ ।
View : 671
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved