विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजनाहरूलाई तीव्रता दिन र कार्यान्वयनका क्रममा देखिएका समस्या समयमै समाधान गर्न मातहतका निकायहरूलाई कडा निर्देशन दिएको छ ।
मंगलबार जारी निर्देशनमा मन्त्रालयले निर्माण कार्यमा हुने ढिलासुस्ती अन्त्य गर्न, नियमित अनुगमन गर्न तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न जोड दिएको छ ।
साथै, आयोजनामा देखिएका अवरोधहरू तुरुन्त पहिचान गरी समाधानका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्न पनि आग्रह गरिएको छ ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलद्वारा हस्ताक्षरित परिपत्रमा निर्माण स्थलमा अपेक्षित प्रगति नदेखिएमा सम्बन्धित कार्यालय प्रमुख तथा आयोजना प्रमुखलाई जिम्मेवार ठहरिने स्पष्ट चेतावनी दिइएको छ ।
निर्देशनमा ठेक्का सम्झौतामा उल्लेखित प्रावधानअनुसार मूल्य समायोजनलाई तुरुन्त कार्यान्वयनमा ल्याउन भनिएको छ ।
यदि कार्यान्वयनमा कुनै समस्या देखिएमा सहजीकरणका लागि तत्काल मन्त्रालयलाई जानकारी गराउन पनि भनिएको छ । त्यस्तै, इन्धन र बिटुमिन जस्ता निर्माण सामग्रीको अभाव भएमा पनि तत्काल सूचित गर्न आग्रह गरिएको छ ।
यसैगरी, आयोजना निर्देशक, सुपरिन्टेन्डिङ इन्जिनियर र डिभिजन प्रमुखहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रभित्र सक्रिय रूपमा खटिन तथा मातहतका कर्मचारीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न मन्त्रालयले सचेत गराएको छ ।
View : 122
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved