Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

स्थानीय तह छोडेर संघ ताक्दै हर्क साम्पाङ

उद्‌घोष संवाददाता
३० कार्तिक २०८२, आइतवार

विराटनगर । श्रमदानको अभियानका बलमा चर्चा कमाएका धरानका मेयर हर्क साम्पाङ अब संघीय राजनीतितर्फ मोडिन लागेका छन् । श्रम संस्कृति पार्टी दर्ता गराइसकेका साम्पाङले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारी  गरिरहेको उनी निकटहरुले बताएका छन् । 

२०७९ मा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा जित हासिल गरेका साम्पाङ संघीय संसदमा प्रवेश गर्दै आफ्नै राजनीतिक यात्रा  देशव्यापी बनाउने लक्ष्यमा छन् । 

उनका निकट सहयोगी तथा पार्टीका केन्द्रीय सदस्य समिर तामाङका अनुसार, साम्पाङले फागुन २१ को निर्वाचनमा  उम्मेदवारी दिने निश्चय गरिसकेका छन् । 

‘उहाँ चुनाव लड्न तयार भइसकेको हो’, तामाङले भने, उम्मेदवारी दर्ता गर्नुअघि मेयर पदबाट राजीनामा दिने तयारी छ । 

श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले पनि साम्पाङले सुनसरी–१ लाई नै आफ्नो क्षेत्रका रूपमा हेरेको र तयारी गरेको बताए ।

धरानमा खानेपानीका स्रोत पहिचानदेखि श्रमदान अभियानमार्फत सडक, धारा र सरसफाइमा जनसहभागिता जुटाउन उनले देखाएको सक्रियताले उनी स्थानीय तहमा निकै लोकप्रिय छन् ।

२०७९ मा उनले २०,८२१ मत ल्याएर नेपाली कांग्रेस र एमाले उम्मेदवारलाई पछि पारे । तर, त्यसपछि दल र तिनका कार्यकर्तालाई लगातार झोले भनेर दुत्कारेका उनी आफै दल खोलेर अघि सरेका हुन् ।

त्यसो त धरानमा २०७६ को उपनिर्वाचनमा उनी त्यति प्रभावशाली देखिएका थिएनन् । त्यतिबेला उनले जम्मा ४२२ मत मात्रै पाए । जनस्तरमा लोकप्रियता बढेपछि मात्र उनले आफनै राजनीतिक संगठन निर्माणतर्फ ध्यान दिएका थिए ।

मेयर साम्पाङले ताकेको सुनसरी–१ लाई परम्परागत रूपमा एमालेको बलियो आधार मानिन्छ । विगतमा मनमोहन अधिकारीदेखि लिला श्रेष्ठ, कुन्ता शर्मा, जयकुमार राईसम्म यही क्षेत्रबाट विजयी भएका थिए ।

तर पछिल्लो निर्वाचनमा समीकरण फेरिएको थियो । जसपाका अशोक राई एमालेको सहयोगमा १७ हजार ५९ मत ल्याउँदै संसदीय चुनाव  जितेका थिए ।  

त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६,६०६ मतसहित दोस्रो बनेकी थिइन् । माओवादीका मुक्सामहाङ सुब्बा १३,०८७ मत पाएर तेस्रो भएका थिए ।

यी अंकहरूले देखाउँछ— सुनसरी–१ मा प्रतिस्पर्धा कडा छ, मताधार विभाजित छ, र नयाँ राजनीतिक शक्ति प्रवेश गर्न चाहे बलियो मुद्दा र संगठित अभियान अनिवार्य हुनेछन् ।

धरान उपमहानगरका सबै २० वडासहित बराहक्षेत्र–१ देखि ५ र रामधुनी–६ र ७ समेटिएको सुनसरी–१ मा श्रम संस्कृति पार्टीले आफ्ना केन्द्रीय अध्यक्ष साम्पाङ अघि सार्ने तयारी गरेको र देशभर उम्मेदवार बनाउने तयारी गरेको पार्टीको दाबी छ ।

View : 387

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved