विराटनगर । नेपाल ग्रामीण विकास समाज केन्द्रको आयोजनामा विराटनगर–९, भानुटोलस्थित ब्रह्मज्ञानी विश्रामालयमा ‘आध्यात्मिक विमर्श एवं ध्यान सचेतना अभ्यास’ कार्यक्रम बुधबार सम्पन्न भएको छ।
मानवीय मूल्य(मान्यताको प्रवर्द्धन र मानसिक शान्तिका लागि आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व एवं साधकहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले वर्तमान समयमा बढ्दो तनाव व्यवस्थापन गर्न ध्यान र आत्मचिन्तन अनिवार्य रहेको बताए। पतञ्जली योग विराटनगरका पूर्व महासचिव राजु दाहाल, डा भेषप्रसाद धमला, अधिकारकर्मी मनोज पोखरेल, ब्युटी श्रेष्ठ र भुवनेश्वर मण्डल राजवंशीले आध्यात्मिक अभ्यासले व्यक्ति मात्र नभई समाज र राष्ट्रलाई नै सकारात्मक दिशामा लैजाने धारणा व्यक्त गरे ।
वक्ताहरूले नैतिकता, सहअस्तित्व र मानवीय संवेदना विकासका लागि दैनिक ध्यान अभ्यासमा जोड दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रमको सहजीकरण कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव एवं साधक उद्धवप्रसाद रिजालले गरेका थिए । अध्यात्म र ध्यानको व्यावहारिक पक्षबारे प्रवचन दिँदै उनले भने, ‘ध्यानका १०० भन्दा बढी तरिकाहरूमध्ये श्वासप्रश्वासमा केन्द्रित हुनु नै सबैभन्दा उत्तम विधि हो। ध्यानले विगतका पश्चात्ताप र भविष्यका चिन्ताबाट मुक्त गराई वर्तमानलाई रमणीय बनाउँछ।’
आयोजक संस्थाका अध्यक्ष मणिकुमार अर्यालले ज्येष्ठ नागरिकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई दृष्टिगत गर्दै ब्रह्मज्ञानी विश्रामालयले विभिन्न रचनात्मक कार्यहरू गरिरहेको जानकारी दिए ।
करिब ७० जनाको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरूले आफ्ना ध्यानका अनुभूतिहरू साटासाट गरेका थिए। सहभागीहरूले यस्ता चेतनामूलक र आध्यात्मिक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिएका छन्।
View : 265
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved