Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

विराटनगर । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ ।
विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैँ जोडिराख्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पूरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । 
शनिबारदेखि सञ्चालनमा आएको यो प्याकको मुल्य अभिवृद्धिकरसहित मात्र रु. २९९ मूल्य तोकिएको छ । 
यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।
यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र रु. १ मा कल गर्न सकिन्छ । 
त्यसैगरी २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।
युवा सिममा अर्को एक विशेषता पनि रहेको छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा १९ रुपैयाँमा प्रदान गर्दछ । 
जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसले युवाहरूलाई सामाजिक सञ्जालको वृत्तमा सधैँ अपडेटेड रहन सहयोग पु¥याउँछ ।
युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्नुपर्दछ । 
आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिने कम्पनले स्पष्ट पारेको छ ।

View : 176

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved