विराटनगर : दशैको बेला कोशी प्रदेशमा भएका सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार फुलपातिदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न जिल्लामा भएका १३५ वटा दुर्घटनामा परी १६ जनाको मृत्यु भएको हो ।
ती दुर्घटनामा परेकामध्ये ४१ जना गम्भिर घाइते र २ सय २४ जना सामान्य घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए ।
दशैंमा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६ सय २८ वटा सवारी साधन कारवाही गरिएको उनले बताए । कारवाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्लो शुक्रबार सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार सुनसरीको दुहबी–११ मा दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार बिहान सुनसरीको धरान उपमहानगरपालिका–१५ मा प्र १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका धनकुटाको शहिदभूमि गाउँपालिका–१ का ४९ बर्षीय हरिभक्त राईको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै झापाको गौरीगञ्ज गाउँपालिका–५ मा को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र को २८ प ३०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महादेवाका ६० बर्षीय कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।
View : 173
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved