Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले माओवादीको नयाँ गठबन्धन, प्रचण्डले छोडेपछि कांग्रेस सत्ताबाट बाहिर

उद्घोष सम्वाददाता
२१ फागुन २०८०, सोमवार

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन  । पहिलो चरणमा सोमबार साँझ नै माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन् ।

गएको वर्ष मंसिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसंगै पुनः सुरु भएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन् ।

अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको छ । तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन् । एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए ।

यो गठबन्धन बन्नुअघि सत्ता गठबन्धनमा खटपट भएका र प्रधानमन्त्री प्रचण्डले कतिपय मन्त्रीहरूलाई फेर्न चाहेका खबरहरू आएका थिए । हिन्दू राष्ट्रको समेत चर्चा चलेको हालैको कांग्रेसको महासमिति बैठकले चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय लिएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्रीसहित २१ जना मन्त्री र एक जना राज्यमन्त्री थिए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, रेशम चौधरीको नागरिक उम्मुक्ति पार्टी र  सिके राउतको जनमत पार्टीले पनि सरकारमा जाने मनस्थिति बनाएका छन् । ती पार्टीले प्याकेजमै सहमति गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालले भने नयाँ सत्ता गठबन्धनप्रति कुनै चासो नरहेको जनाएको छ ।

गठबन्धन फेर्ने प्रधानमन्त्रीको निर्णयलाई कतिपयले कांग्रेससँग हालैका महिनाहरूमा चिसिएको सम्बन्धको परिणामका रूपमा लिएका छन् । सामाजिक सञ्जालमा कतिपयले यसले उनको ‘अस्थिर’ र ‘अविश्वसनीय’ चरित्रलाई उजागर गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने सोमवार सार्वजनिक टिप्पणी गर्दै नयाँ गठबन्धन बन्नुलाई एउटा ‘उथलपुथल’ भन्दै मन्त्रिपरिषद्को पुनर्गठन गर्ने आफ्नो निर्णयको बचाऊ गरेका छन् । राजधानीमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रायः मान्छेहरूले भन्ने गर्छन् धेरै नै अविस्वस्नीय । कुन बेला कता फड्किन्छ बुझ्नै नसक्ने मान्छे भन्छन् । म त्यस्तो होइन । म नेपाल राष्ट्रपति इमानदार हुने कुरामा जहिल्यै पनि कायम छु । तर प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

प्रधानमन्त्रीले पछिल्लो समीकरणले नयाँ राजनीतिक धुव्रीकरणको सुरुवात गराएको पनि उल्लेख गरेका थिए । उनले पछिल्लो समीकरणले ‘समाजवादी दलहरूबीच नयाँ एकताको सङ्केत गरेको’ पनि उल्लेख गरे ।  

प्रचण्ड भन्छन्, ‘खिइदै, सुक्दै, एक्लो हुँदै अनि फेरि ठूल्ठूला कुरा गरिराख्ने यो हुन सक्दैन् । हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिस्ट एकताको पनि पहल गर्दैछौं ।’ उनले प्रतिक्रियावादीहरूले आफूलाई घेरा हालेर सिद्धयाउने प्रयास धेरै पटक गरेको उल्लेख गर्दै थपे, ‘त्यो तोड्दै आएका छौं । तोड्दै जान्छौं । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।’

View : 300

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved