Biratnagar, Morang, Nepal
२ असोज २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

रंगेलीमा काङ्ग्रेसले थालेको आन्दोलनमा पुगेका विराटनगरका मेयरलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र

मेयर कोइरालाले रंगेली नगरपालिका कर धेरै भएको भन्दै काङ्ग्रेसका स्थानीय केही नेता कार्यकर्ताहरूले सुरु गरेको आन्दोलनलाई समर्थन गर्न पुगेपछि यो विषयले राजनीतिक मोड लिएको हो ।
उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

Advertisement

विराटनगर । नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै नगरको विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति सचेत गराएको छ । एमालेकै जनप्रतिनिधिहरूको बहुमत रहेको विराटनगर महानगरपालिकामा एमालेकै सिंगो जिल्ला कमिटीको नेतृत्व गर्दै अध्यक्ष बाबुराम कार्कीले कोइरालालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

महानगरका जनप्रतिनिधिहरूको कार्यकाल गनेर बसेको एमालेले कोइरालाप्रति लक्षित गर्दै ध्यानाकर्षण पत्र बुझाउनुको पछाडि अन्य असन्तुष्टिभन्दा पनि कोइरालाकै पछिल्लो पटकको भूमिकासँग जोडिएको छ ।

मेयर कोइराला दुई दिनअघि मात्रै एमाले नेतृत्वको स्थानीय तहमा काङ्ग्रेसको नेतृत्वमा भएको आन्दोलनमा सहभागी भएपछि एमालेले पनि ‘काउन्टर’ दिँदै उनलाई ध्यानाकर्षण गराएको हो । 

मेयर कोइरालाले रंगेली नगरपालिका कर धेरै भएको भन्दै काङ्ग्रेसका स्थानीय केही नेता कार्यकर्ताहरूले सुरु गरेको आन्दोलनलाई समर्थन गर्न पुगेपछि यो विषयले राजनीतिक मोड लिएको हो । कोइरालाले बुधबार मात्रै काङ्ग्रेस उपसभापतिको हैसियतमा रंगेली पुगेर नगरपालिकाकै अगाडि आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । 

एमालेले भने एउटा स्थानीय तहको जनप्रतिनिधिको समेत जिम्मेवारीमा रहेको अवस्थामा अर्को  स्थानीय तह (पालिका) मा विरोध प्रदर्शनमा उत्रिनु पदीय रुपमा गैरजिम्मेवारपूर्ण कार्य भएको ठहर गरेको छ । त्यसैको जवाफमा एमाले मोरङकै नेतृत्वमा उनलाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो ।

काङ्ग्रेसबाट विराटनगरको मेयरमा निर्वाचित कोइराला र एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्कीलाई महानगरको विकास निर्माणसँग जोडिएका विषयमा गम्भीर हुन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । 

एमाले जिल्ला कमिटीको प्रतिनिधि मण्डलले मेयर कोइरालाको कार्यकक्षमै पुगेर पहिलो पटक ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । एमालेले महानगरमा निर्वाचित भएको २ वर्ष ५ महिना बितिसकेको भन्दै यस अवधिमा विकास निर्माणको सवालमा अपेक्षित काम नभएको आरोप लगाएको छ ।

एमालेले महानगरमा सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी कार्यहरू हुन नसकेको भन्दै मेयर कोइरालाको भूमिका माथि प्रश्न उठाएको छ । अध्यक्ष कार्कीले विराटनगरको समग्र विकास निर्माण तथा जनसरोकारका विषयहरूलाई अविलम्व समाधान गर्न मेयर कोइरालालाई चेतावनी दिएका छन् ।

एमालेले विराट राजाको दरवार, प्रधानमन्त्री पार्कलगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको मुख्य कारण मेयर कोइराला भएको आरोप लगाएको छ ।

साथै नगरपालिकाले सञ्चालन गर्ने नगर बस अविलम्व सञ्चालन गर्नुपर्ने, नगरभित्र फोहरमैला व्यवस्थापनमा देखिएको लापरवाही रोकिनु पर्ने, नगर क्षेत्रको खेलकुदको प्रवर्द्धनका लागि अविलम्ब नगर खेलकुद विकास समिति गठन गर्नुपर्ने, विराटनगरको डुवान र ढल निकासका लागि स्थायी समाधान गर्नुपर्ने र विगतमा सुरु गरिएका अधुरा विकास योजनाहरु सम्पन्न गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

एमालेको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले विकास निर्माणका लागि बजेटको अभाव भएको बताएका थिए । उनले बजेटका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गरिरहेको बताए ।

View : 93

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved