Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखिकरण

उद्‌घोष संवाददाता
८ भदौ २०८२, आइतवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवापुस्ताले आर्जन गरेको नयाँ सीप, उत्साह र प्रविधिको प्रयोग गर्ने क्षमतालाई विस्तार गरी डिजिटल उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन् ।

महासंघको आयोजनामा एवं सहज परियोजनाको सहयोगमा शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रिया अभिमुखिकरणमा बोल्दै अध्यक्ष राउतले युवा वर्गलाई स्टार्टअप र नवप्रवर्तनको माध्यमबाट मुलुकको विकास गर्न सकिने बताए ।

उनले युवा वर्गलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्न सके मात्रै कोशी प्रदेशमा रोजगारी सिर्जना हुने, लगानीको बृद्धि, स्थानीय समस्याहरूको समाधान र आत्मनिर्भर प्रदेश बनाउन बाटो खुल्ने बताए ।

प्रदेशको अर्थतन्त्रलाई परम्परागत सीमाबाट बाहिर निकालेर विविधिकरण गर्न सहयोग पुग्नेसमेत अध्यक्ष राउतले बताए ।

त्यसैगरी स्थानीय समस्याको समाधान स्थानीय सोचबाट हुनसक्ने सम्भावनालाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ । छलफलले स्थानीय सरकार र निजी क्षेत्रबीचको आपसी सहकार्यसमेत बलियो बन्नेमा महासंघ विश्वस्त रहेको उनले बताए ।

स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने वातावरण तयार गरेर कोशी प्रदेशको तीव्र गतिमा प्रगति गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको हो । 

कोशी प्रदेशलाई नवप्रवर्तन, उद्यमशीलता र समृद्धिको केन्द्र बनाउन अन्तरक्रिया फलदायी अवसर बनेको सहभागीहरूले बताए ।

अभिमुखिकरणमा मोरङ र सुनसरी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष, प्रतिनिधि तथा स्थानीय तहका अधिकृतहरूको सहभागिता रहेको थियो ।

उद्यमशीलताको अवधारणा, उद्यमशीलताको विकास, सफल उद्यमशीलता निर्माण गर्ने, उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको थियो ।

स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी विज्ञ निरज खनाल र अनिल पराजुलीले विषयवस्तुको बृहत सहजीकरण गरेका थिए ।

महासंघले यस्तै अन्तरक्रिया मेची औद्योगिक करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघहरूसँगको समन्वयमा मंगलबार र बुधबार झापाको विर्तामोडमा पनि सम्पन्न गरेको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।

View : 397

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved