राष्ट्रिय सभा निर्वाचन :
विराटनगर । हरेक निर्वाचनमा अन्तरघात गरेको भन्दै राजनीतिक दलहरूले पार्टी कार्यकर्ताहरूलाई कारबाही गर्ने लहर नै चल्छ ।
मतदाता तहका कार्यकर्तालाई यसरी कारबाहीको डण्डा चलाउने दलहरूभित्र रहेका नेता तहका मतदाता नै घात–प्रतिघातमा संलग्न हुने गरेको तथ्य यसपटक राष्ट्रिय सभा निर्वाचनमा कोशीमा देखिएको छ ।
फ्लोर क्रस गरेर अर्को दलका उम्मेदवारलाई मत दिने मात्रै होइन, यसपटक मतदानस्थलमा अनुपस्थित रहेका सांसदको मत अर्कैले हालेको समेत पाइएको छ ।
आइतबार कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन सकियो । परिणाम आयो । विजेता पनि तय भए । तर, यसपटकको निर्वाचन अब विजेताको नामले जति सम्झना हुनेछ, भोटले देखाएको चाल बढी सम्झनामा रहने देखिन्छ ।
यसपटकको निर्वाचनमा कोशीमा कांग्रेस र एमाले गठबन्धनमा थिए । नेपाल कम्युनिष्ट पार्टी एक्लै मैदानमा थियो । तर, जब परिणाम सार्वजनिक भयो, त्यसमा नेकपाका दुवै उम्मेदवारले कांग्रेस–एमाले गठबन्धनको उल्लेख्य मत तानेको तथ्य सार्वजनिक भयो ।
राष्ट्रियसभामा प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने हुन् ।
दलहरूले ती सबै पदमा पार्टीका नेता तहका व्यक्तिलाई पठाएका हुन्छन् । तर, नेता तहका तिनै मतदाताले भने पार्टीले तोकेभन्दा फरक उम्मेदवारलाई मतदान गरेको पाइएको छ ।
कोशीमा महिला सदस्यतर्फ एमालेकी रोशनी मेचे फराकिलो मतान्तरसहित राष्ट्रिय सभामा पुगिन् । तर, उनको जितसँगै मतगणनाको टेबलमा देखिएको अंकगणितले भने गठबन्धनभित्रबाट भएको फ्लोर क्रसको उल्लेख्य संख्या देखायो ।
नेकपाकी उम्मेदवार नमिता न्यौपानेले आफ्नै दलको शक्तिभन्दा बाहिरको मत पनि बटुलिन् । प्रदेशसभामा नेकपाका जम्मा १७ सांसद थिए । तर, उनको खातामा २२ सांसदको मत देखियो । अर्थात कांग्रेस–एमाले गठबन्धनका पाँच सांसदको मत नमिताले प्राप्त गर्न सफल भइन् ।
स्थानीय तहमा कथा अझै रोचक बन्यो । नेकपाका ३६ जना स्थानीय तहका मतदाता हुँदा नमिताले ५८ जनाको मत पाइन् । यसको अर्थ गठबन्धनका २२ जना स्थानीय तहका प्रतिनिधिले नेकपा उम्मेदवार नमितालाई मतदान गरेका छन् ।
गठबन्धनको मत नेकपाका दलिततर्फका प्रतिष्पर्धी खेम सुन्दासले पनि बटुले । उनले २ हजार २७ मतभार प्राप्त गरेका छन् । उनलाई १८ जना प्रदेशसभा सदस्य र ५७ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका थिए ।
उनले कांग्रेस एमालेका एक जना प्रदेशसभा सदस्यको मत बढी पाए भने स्थानीय तहका २१ जना जनप्रतिनिधिको मत हात पार्न सफल बने । यसले कांग्रेस एमाले गठबन्धनभित्र नेकपाले खेल खेलेको अर्थमा लिइएको छ ।
कोशीमा राष्ट्रियसभा निर्वाचनमा यस्तो.भएको पहिलोपटक भने होइन । पछिल्लो तीन वटा निर्वाचनमा लगातारजसो ठूलो संख्यामा फ्लोर क्रस हुँदै आएको छ ।
अघिल्लोपटक कांग्रेस माओवादी गठबन्धन हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौला जित्दा माओवादीकी चम्पा कार्की हारेकी थिइन् । त्यसअघि एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतको मत बराबरी हुँदा गोला तानेर बस्नेत विजेता बनेका थिए ।
आइतबारको निर्वाचनमा क्रस भोटको चर्चा चलिरहदा निर्वाचनको अर्को कुनाबाट एउटा अनौठो घटना बाहिर आयो—मत खसालिएको तर मतदाता नै अनुपस्थित भएको घटना ।
कोशी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रदेशसभाका ९२ सांसदमध्ये ८७ जनाले मतदान गरेका छन् । ती ८७ जनाको सूचीमा राप्रपाका सांसद प्रेमराज थाम्सुहाङको नाम पनि थियो ।
तर, थाम्सुहाङ भने त्यही बेला काठमाडौंमा थिए । उनले आफू काठमाडौंमा भएको र मतदानमा सहभागी नभएको बताएका छन् ।
तर, निर्वाचन कार्यालयको प्रतिक्रिया भने उल्टो आयो । प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईले थाम्सुहाङको नामबाट परिचयपत्र देखाएर मत हालिएको र त्यो मत गणनासमेत भइसकेको छ ।
कोशी प्रदेशसभामा एमालेका ४० सांसद छन् । उनीहरूमध्ये सुनसरीकी सांसद यशोदा कायस्थ अहिले अमेरिकामा छन् । यसरी एमालेका ३९ सांसद मात्रै मतदानमा सहभागी भए ।
कांग्रेसका २९ मध्ये उदयपुरकी लीला राई स्वास्थ्य समस्याका कारण अनुपस्थित रहेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिए ।
माओवादीका १३ र एकीकृत समाजवादीका ४ गरी १७ जना सांसद रहेको नेकपाका सबैले मतदान गरे भने जसपाकी एक्लो सांसद निर्मला लिम्बू पनि मतदानमा सहभागी भइन् ।
राप्रपाका ६ मध्ये दलका नेता भक्तिप्रसाद सिटौला राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।
बाँकी रहेका ५ मध्ये सभामुख अम्बर विष्ट एक्लैले मात्रै मतदान गरेको र बाँकीले भाग नलिएको प्रमुख सचेतक सविना बजगाईंले जानकारी दिएकी थिइन् ।
यसरी प्रदेशसभामा कूल खसेको मत ८६ हुनुपथ्र्यो । निर्वाचन कार्यालयको तथ्यांकले ८७ देखाएपछि राप्रपा सांसद थाम्सुहाङको मत अर्कैले हालेको देखिएको छ । यसरी यसपटक कोशीमा भएको राष्ट्रियसभा निर्वाचनमा कतै गोप्य कोठामा गठबन्धनको रेखा मेटियो भने कतै एउटा मत मालिकबिनै बुथसम्म पुगेको देखियो ।
View : 224
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved