Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

महिनैपिच्छे नयाँ विवादमा केदार कार्की

उद्घोष सम्वाददाता
१५ असोज २०८१, मङ्गलवार

विराटनगर । गत बैशाख अन्तिममा मुख्यमन्त्री पदबाट पदमुक्त बनेका कांग्रेस नेता केदार कार्की त्यसपछिको हरेक महिनाजसो नयाँ –नयाँ विवादमा  जोडिन थालेका छन् । मुख्यमन्त्रीबाट हटेको यो साढे चार महिनामा तीन वटा विवादित घटनामा उनी प्रत्यक्ष जोडिए ।

त्यसमध्ये सरकारविरुद्ध गरेको अनशनलाई उनले आफ्नो सफलता भएको दाबी गर्दै आएका छन् भने अरु दुई घटनाले भने उनलाई विवादमा तानेको छ । 

खासगरी सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई धम्क्याएको र भर्खरै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ‘माटोमा कमिसन खाएको’ आरोप लगाएका घटनाले पूर्व मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । 

संयोगले यी तीन वटा घटनामध्ये सचिवसँगको घटना साउनमा, सरकारविरुद्धको अनशन भदौमा र अहिले प्रजिअमाथिको आरोप असोजमा घटित भएको छ । 

पूर्व मुख्यमन्त्री कार्कीले साउन ७ गते सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा  थुन्ने धम्की दिएका थिए । 

त्यसबेला आफूले भनेको काम  नगरेको भन्दै कार्कीले सचिवलाई धम्क्याएका थिए । त्यसबेला मुख्यमन्त्रीको आसनमा पुगिसकेको राजनीतिज्ञले सुहाउँदो व्यवहार प्रदर्शन नगरेको भन्दै कार्कीको आलोचना भएको थियो । 

त्यसबेला बोलीका कारण आलोचना खेपेका कार्कीले त्यसपछि भदौ २५ मा कोशी सरकारविरुद्ध अनशन सुरु गरे । 

कार्कीका समर्थक र विपक्षी दलहरुले समर्थन गरेको अनशनलाई सत्ता सहयात्री कांग्रेस र एमालेका नेताहरुले भने आलोचना गरेका थिए । 

अनशनका क्रममा उनले  आफ्नै दलसँग छलफल नगरेको, सत्ता गठबन्धनको मर्मलाई ख्याल नगरेको आरोप लाग्यो । तर, सरकारले भने उनका जनस्वास्थ्य सम्बद्ध मागहरु उनीसँगै छलफल गरेर पूरा गर्ने प्रतिबद्धता जनायो । उनले भोलिपल्ट अनशन तोडे । अनशन बसेपछि कोशीमा कांग्रेस नेताहरुले कार्कीविरुद्ध विभिन्न अभिव्यक्ति दिंदै आएका छन् । 

उनका केही समर्थकहरुले पनि छलफल र सल्लाह बेगर अनशन बस्ने र तोड्ने काम भएको भन्दै उनको आलोचना गर्दै आएका छन् । 

साउन र भदौका यी दुई घटनापछि कार्की भर्खरै सीडीओ (प्रजिअ) काण्डमा जोडिएका छन् । घटना अनुसार गएको शनिबार बाढीले जनजीवन अस्तव्यस्त बनेको थियो । विराटनगर–१२ को सम्पन्न बस्तीमा केसलिया खोला बाँध फुटेर पसेको थियो । 

पूर्व मुख्यमन्त्री कार्की र उनका सहयोगीहरु शनिबार बिहानैदेखि त्यो क्षेत्रमा उद्धारका लागि खटिएको भिडिओ र फोटोहरु सार्वजनिक भइरहेका थिए । त्यही क्रममा सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो । 

भिडियोमा पूर्व मुख्यमन्त्री कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग टेलिफोन संवाद गरेको देखिन्छ । त्यही संवादका क्रममा उनले प्रजिअ भट्टराईमाथि ‘माटोको कमिसन खाएको’ संगीन आरोप लगाएको देखिन्छ । 

‘म अहिले यहाँ विराटनगर–१२ सम्पन्न बस्तीमा छु, बाँध फुटेको छ । खबर आएको २ घण्टा भयो । तपाईंको अफिसबाट यहाँ आइपुग्नलाई धेरै छैन । २–३ किलोमिटर होला’, कार्की फोनमा भन्छन् ‘ यहाँ नाउ पनि आएको छैन । नाउको नाम लिएर आउने मान्छे पनि छैन । नगर प्रहरीको इन्स्पेक्टर साब र म छु । यहाँ कम्तीमा पनि अस्थायी बाँध बाँधियो भने यहाँका घरहरू बच्छ । बाँध फुटेको छ । खाली तपाईंहरूको काम भनेको बस्ती, खोला छेउको माटो काट्नेसँग पैसा लिने मात्र भयो । उनीहरूलाई कारबाही गर्नु भएन । यो अवस्था निम्त्याउने तपाईंहरू नै हो । अरु कुरा होइन । मैले पटक–पटक तपाईंहरुलाई खबर गर्दा पनि मान्छे पक्रिने भन्दा, माटो काट्ने मान्छे रोक्ने भन्दा, स्काभेटर लगेर खोलाको छेउमा माटो काट्दा पनि तपाईंले रोक्नु भएन । त्योसँग कमिसन खानुभयो ।’ 

यो भिडियो सार्वजनिक भएपछि सार्वजनिक वृत्तमा फेरि एकपटक कार्कीको आलोचना भइरहेको छ । आफ्नो पदीय गरिमा बिर्सेर पूर्व मुख्यमन्त्रीले सस्तो प्रचारको बाटो रोजेको आरोप जिल्ला प्रशासनका एक कर्मचारीले लगाए । 

‘सीडीओ सा’ब ले सार्वजनिक रुपमा यसबारे केही भन्नुभएको छैन’, प्रशासनका एक कर्मचारीले भने ‘तर, प्रशासनलाई माटोको कमिसन खायो भन्नेहरुकै मान्छेले त्यहाँ माटोमा मनपरी गरेका छन् । बेकारमा बोलेर किन आफ्नै टाउको दुखाउने भनेर उहाँलाई वेवास्ता गरिएको हो ।’ 

ती कर्मचारीले कार्कीले लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । यसअघि कार्की फष्ट बेन्चमा बस्ने खरदार भएको तर लाष्ट बेन्चर आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएपछि निकै आलोचित भनेका थिए ।

बेला–बेला अनेकन फण्डा निकालेर स्टन्टबाजी गरेर कार्की चर्चामा आउने गरेका छन् ।

View : 129

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved