Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

अहिले कांग्रेसले जसलाई भेट्यो जता फर्कियो त्यतै टोक्छः ओली

उद्घोष सम्वाददाता
८ जेठ २०८१, मङ्गलवार

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले जसलाई भेट्यो जता फर्कियो त्यसलाई टोक्ने टिप्पणी गरेका छन् । उनले कांग्रेसले आफ्नो लागि काम नगर्नेहरूलाई मुख छाड्ने र बेइज्जत गर्ने गरेको बताए ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा अध्यक्ष ओलीले कांग्रेसले बेइमानीको राजनीति सुरु गरेको आरोप समेत लगाए । 

‘अहिले कांग्रेसले जति फर्कियो त्यतै टोक्छ, जसलाई देख्यो टोक्छ, कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ बेइज्जत गर्छ’ ओलीले भने, ‘कांग्रेसले आफूलाई सम्हाल्नु पर्यो, सम्हालेर लोकतान्त्रिक अभ्यासमा आउनु पर्यो ।’ 

उनले विगतमा कांग्रेसको सरकार हुँदा पनि प्रतिपक्षले विरोध गर्दा गर्दै संसद् सञ्चालन भएको र प्रस्तावहरू पारित भएको दाबी गरे ।

उनले संविधान जारी भएपछि कांग्रेसले सहकार्यको राजनीति गर्न छाडेको आरोप पनि लगाए । कांग्रेसले नै अन्य दलहरूसँगको सहकार्य तोड्ने गरेकोले अहिले नै कांग्रेस– एमालेबीचको सहकार्यको सम्भावना पनि नरहेको बताए ।
‘संविधान जारी भएपछि चलिरहेको सहकार्य कांग्रेसले तोड्यो, मुलुकलाई स्थिरतामा लान सहकार्यको आवश्यकता थियो, हामीले प्रयास गर्यौं तर कांग्रेसले त्यो बाटो नै छोड्यो’ ओलीले भने, ‘बहुदलीय प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु परेको छ ।’

कांग्रेसको विरोधका बावजुद पनि बजेट पारित हुने ओलीले बताए । उनले विगतमा पनि संसद् घेराउका बिच पास भएको बताए । 

‘अहिलेसम्म घेराउका बिचमा पास भएका छैनन् ? हामीले १२ पल्ट घेराउ गर्दागर्दै पास भएको देख्नु भएको थिएन ?’ ओलीले प्रतिप्रश्न गरे । 

विरोध भएपनि सत्ता पक्षले पेलेर नजाने बताए । कुनै विषयमा असहमति भए अदालत जान कांग्रेसलाई आग्रह गरे । कांग्रेसले सरकारलाई पेलेको भन्न नसकिने तर जे भनेको छ त्यै हुनुपर्छ भन्ने अडानमा रहेको बताए ।

कांग्रेसले सत्ताभन्दा अरुमा ध्यान नदिने अवस्था उत्पन्न भएका कारण मिलेर जान समेत समस्या भएको बताए । 

‘प्रधानमन्त्रीले विश्वासको मत लिन माग्नु हुँदा समेत वहाँहरू मान्नु भएन, भएको सहमति पनि उल्ट्याउने खोज्नुभयो, सहमति खोज्ने कुरामा वहाँहरूको रुचि नै छैन’ ओलीको आरोप थियो ।

उनले एमाले अहिले सत्ता स्वार्थको पछि नलागेको दाबी गरे । एमालेले आफ्नो हैसियत अनुसार अघि बढिरहेको र देशमा स्थिरता होस् भन्ने पक्षमा रहेको बताए ।

उनले नेकपा एकीकृत समाजवादीले सरकार छोड्ने नछोड्ने भन्ने कुरा उसको खुसीको कुरा भएको टिप्पणी गरे । 
 

‘एसले सरकार छोड्नु उसको खुसीको कुरा हो नि, अहिलेको जटिल अवस्थामा प्रतिगामी शक्तिहरू उठेका छन् हौसिएका छन्, बाह्य हस्तक्षेप अलिक बढ्दो देखिन्छ’ उनले भने, ‘ती कुराहरूलाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउनु पर्छ भन्ने कुरा कांग्रेसले बुझ्नै देखिएन ।’

View : 187

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved