Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

इटहरीको कचना माविको नयाँ भवन उद्घाटनमा राजनीतिक दाउपेच

ओलीले गर्ने भनिएको विद्यालय भवनको उद्घाटन रोक्न इटहरीका मेयर पौडेल नै सक्रिय

नगर प्रमुख पौडेलले कार्यपालिकाको निर्णय भन्दै पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले बुधबार हुने उद्घाटन कार्यक्रम नरोक्ने जनाएको छ । नगर प्रमुखले कार्यक्रम रोक्न पत्रचार गरेको र विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाउँदा ओली सहभागी हुने कार्यक्रम विवादमा तानिएको हो ।
उद्घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

सुनसरी, १५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको इटहरीको एक कार्यक्रम विवादित बनेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको प्रमुख आतिथ्यतामा बुधबार हुने भनिएको इटहरीस्थित कचना माध्यमिक विद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम विवादित बनेको हो । 

एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने भनेर तयारी भइसकेको अवस्थामा नगर प्रमुख हेमकर्ण पौडेलले भवन उद्घाटनको कार्यक्रम तयारी नपुगेको भन्दै स्थगित गर्न पत्रचार गरेका छन् । 
विद्यालय ब्यवस्थापन समितिको निर्णयअनुसार सम्पूर्ण तयारी पूरा गरेर उद्घाटन गर्ने बेलामा नगर प्रमुखले अवरोध गरेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिधिहरूले आरोप लगाएका छन् । 

नगर प्रमुख पौडेलले कार्यपालिकाको निर्णय भन्दै पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले बुधबार हुने उद्घाटन कार्यक्रम नरोक्ने जनाएको छ । नगर प्रमुखले कार्यक्रम रोक्न पत्रचार गरेको र विद्यालय व्यवस्थापन समितिले उद्घाटन कार्यक्रम नरोक्ने जनाउँदा ओली सहभागी हुने कार्यक्रम विवादमा तानिएको हो । 

तयारी पूरा भइसकेको अवस्थामा नगर प्रमुख पौडेलले भवन निर्माणको काम सम्पन्न नभएको भन्दै सोमबार उद्घाटन कार्यक्रम स्थगित गर्न पत्र पठाए पनि विद्यालय व्यवस्थापन समितिले पूर्वनिर्धारित समयमै भवनको उद्घाटन गर्ने अध्यक्ष डिगबहादुर राईले बताए । 

पूर्वनिर्धारित समयमै भवनको उद्घाटन हुने र अध्यक्ष ओलीले नै गर्ने राईले बताए । उद्घाटन तयारीका विषयमा एमाले कोशीका सहइन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले स्थलगत अनुगमन समेत गरेका छन् । भवन निर्माणको सम्पूर्ण काम सकिएको राईले बताए । 

राजनीतिक प्रतिशोधका कारण अध्यक्ष ओलीलाई भवन उद्घाटन गर्न रोक्न खोजेको भन्दै एमाले इटहरीले नगर प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको विरोध गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ । 

पौडेल नेपाली कांग्रेसबाट इटहरीको नगर प्रमुखमा निर्वाचित भएका हुन् । उनले राजनीतिक प्रतिशोधका कारण एमाले अध्यक्ष ओलीले भवनको उद्घाटन गर्ने भनेर निर्णय भइसकेपछि बहाना बनाएर रोक्न खोजेको एमालेको आरोप छ । 

नगर प्रमुखले भन्दैमा उद्घाटन कार्यक्रम नरोकिने एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए । उनले भवन उद्घाटनको आवश्यक तयारी पूरा भएको दाबी गरे । इटहरीका नगर प्रमुख पौडेलले भने पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले भवनको उद्घाटन गर्नु गौरवको कुरा भएको बताए । 

उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीले उद्घाटन गर्नु नगरको गौरवसँग जोडिएको विषय भएकाले आवश्यक तयारी पूरा गर्न बाँकी भएकाले स्थगित गरिएको बताए । 

उनले भने, ‘हामी उहाँलाई बोलाएर पछि भवनको उद्घाटन गराउँछौं अहिले भवन निर्माणको काम सकिएको छैन, हतार नगरौं ।’ 

इटहरी उपमहानगरकी उपप्रमुख संगीताकुमारी चौधरीले उद्घाटन कार्यक्रम बुधबार नै हुने बताइन् । उनले सबै तयारी सकिएको अवस्थामा नगर प्रमुख पौडेलले राजनीति गरेको आरोप समेत लगाइन् ।

View : 1953

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved