विराटनगर । नेपाली काङ्ग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । यसअघि एमालेमै रहेका उनी काङ्ग्रेस प्रवेश गरेका थिए । पूर्व क्षेत्रीय सभापति रहेका थापा सात वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । उनलाई कांग्रेसमा रहँदा पार्टी हित विपरित काम गरेको भन्दै कांग्रेसले समेत कारवाही गरेको थियो ।
आइतबार थापालाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जंग बहादुर मगर समेत एमालेमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव पोखरेलले उनीहरूलाई खादा र टीका लगाई पार्टीमा स्वागत गरे ।
पोखरेलले देशमा धेरै पार्टी भन्दा बलिया पार्टीको आवश्यक भएको बताए । उनले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा एमालेलाई २०८४ को निर्वाचनमा बहुमत आउने गरी संगठन निर्माणमा जुट्न उक्त अवसरमा सहभागी नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
एमाले प्रवेशपछि बोल्दै थापाले आफू विना शर्त काङ्ग्रेसबाट पुनः एमालेमा प्रवेश गरेको बताएका थिए । उनले पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य मञ्जु चौधरी, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, प्रदेश कमिटी सदस्य ईश्वरमणि राउत, एमाले उदयपुरका नेता गोपाल खत्री लगायतका नेता कार्यकर्ताहरू उपस्थित थिए ।
जिल्ला अध्यक्ष राउतले आफू अध्यक्षमा निर्वाचित भएयता विभिन्न दलबाट दुई सय ७२ जना व्यक्तिहरू एमालेमा प्रवेश गरेको जानकारी गराएका थिए ।
View : 1008
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved