Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षकले फर्जी हाजिरी गरेर तलब लिएपछि अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर

उद्घोष सम्वाददाता
१७ फागुन २०८०, बिहिवार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्राथमिक तहका शिक्षक बालेश्वर यादवसहित उक्त विद्यालयका तीनजना प्रधानाध्यापकहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा विज्ञप्तिमा उल्लेख छ ।

शिक्षक यादवले आफू न्यूरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदा ९१ दिनको फर्जी हाजिरी जनाएर विद्यालयबाट गैरकानुनी रूपमा तलब भत्ता बुझेको अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ । यादवले ४७ दिन गयलसमेत भएर तोकिएको सरकारी कामकाज नगरी विद्यालयलाई हानी पुर्‍याएर एक लाख ३० हजार ८ सय४३ रूपैयाँ दुई पैसा तलव भत्ता बुझेको अख्तियारले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिष्टेन्ट विषयको खुल्ला कोटा अन्तर्गत शिक्षक यादव न्युरो मेडिकल कलेज विराटनगरमा भर्ना भएका थिए ।

उनले शैक्षिक वर्ष २०७५/०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको र उक्त अवधिको तलब सुविधा लिएको उजुरीका आधारमा छानबिन गर्दा शिक्षक यादवले अध्ययनको अवधिमा समेत विद्यालयमा फर्जी हाजिरी गरेको पाइएको आरोप पत्रमा उल्लेख छ ।

शिक्षक यादवले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर भएको भन्दै उनलाई हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवाना हुनुपर्ने अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मागदाबी रहेको छ । 

त्यसैगरी शिक्षक यादवलाई फर्जी हाजिरी गराउने कार्यमा संलग्न रहेको आरोपमा सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकहरू धनीलाल यादव, भोली यादव तथा वर्तमान प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवसमेत मुख्य कसुरदार सरह भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

धनीलाल यादवविरूद्ध प्रअको जिम्मेवारीमा रहँदा शिक्षक यादव न्यूरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि दिन ३७ दिन गरी जम्मा ६४ हजार ९०० रूपैयाँ ४४ पैसा भुक्तानी दिएको आरोप छ ।

भोली यादवले प्रअको जिम्मेवारीमा रहँदा ३४ दिन विद्यालयमा अध्यापन नगराई फर्जी हाजिरी गराएर ३३ हरजार ६ सय १८ रूपैयाँ ४२ पैसा तलब भत्ता दिलाएको र प्रअ वीरेन्द्रप्रसाद यादवले २२ दिन फर्जी हाजिरी गराएको र १० दिन गयल अवधिको समेत गरी ३२ हजार ३ सय २४ रूपैयाँ १६ पैसा भुक्तानी गरेर गैरकानुनी लाभ दिलाएको अख्तियारले आरोप लगाएको हो ।

उनीहरूविरूद्ध हानी पुर्‍याएको रकम बराबरको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसुरदारलाई हुने सजाय बराबरकै कैद तथा बिगो बमोजिम जरिवाना हुनुपर्ने माग विशेष अदालत समक्ष गरिएको छ ।

View : 321

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved