धेरै वर्षदेखि विश्वका हिन्दुहरूको प्रख्यात तीर्थस्थान वृन्दावन मथुरा भ्रमण गर्न मन लागेर समय परिस्थिति सबैथोक मिलाउँदा बल्ल बल्ल जुरेको गत असोज २४ गते बिहिबारका दिन जुर्यो । उद्घोषकर्मी पूर्णबहादुर भुजेल, गीता भुजेल, उत्तम भुजेल, डीपी ढुंगेल, चन्द्रा भट्टराई ढुंगेल, प्रज्वल ढुंगेल र कुमारी थापामगर गरी जम्मा सात जनाको टोली थियो । वडादशैंको फूलपातीको दिन राति ९ बजे जोगवनी आनन्दविहार सीमाञ्चल एक्सप्रेसमार्फत हाम्रो टोली यात्रामा निस्कियो ।
जोगवनी, पूर्णिया, कटिहार, पण्डित दिनदयाल उपाध्याय, प्रयागराज हुँदै भोलिपल्ट असोज २५ गते साँझको ६ बजे हाम्रो टोली टुण्डला रेलवे जक्सनमा पुगेर उत्रिएको थियो । भारतको बिहार, उत्तर प्रदेश राज्यको विकास देख्दा मन छोयो । टुण्डलाबाट हाम्रो टोली २५ गते बेलुकाको रात प्रख्यात शहर आगरामा बास बसी २६ गते बिहान लालकिल्ला ताजमहल अवलोकन गर्न भ्याइयो । हामी सानो छँदा तत्कालीन अवस्थामा केही भारतीयहरू ठूलो बाक्सामा ‘आगरा देखो, कुतुवमिनार देखो, दिल्ली देखो, लालकिल्ला देखो’ १०–२० पैसामा हेर्न पाइन्थ्यो ।
झन्डै ४० वर्षपछि प्रत्यक्ष रुपमा ताजमहल हेर्ने अवसर मिल्यो । ताजमहल यमुना नदीको किनारमा अवस्थित छ । सन् १६३१ मा सम्राट शाहजहाँकी प्यारी रानी मुमताजको निधनबाट निक्कै भावुक र चिन्तामा परेका राजाले उनकै सम्झनामा सन् १६३२ मा ताजमहल निर्माणको सुरुवाती गरे । १५औं मुगल सम्राट शाहजहाँ निकै प्रिय राजा भएकाले उनले ताजमहल निर्माणका लागि सामान ओसारपसार गर्न एक हजार हात्ती प्रयोग गरेका थिए भने २२ हजार श्रमिक शक्ति लगाएर ७३ मिटर अग्लो ताजमहल निर्माण गरेका थिए ।
हाल विश्व सम्पदा सूचीमा युनेस्कोले सन् १९८३ देखि ताजमहललाई समेटेको छ । दैनिक हजारौं भारतीय बङ्गलादेशी पाकिस्तानी तथा पश्चिमी मुलुकका पर्यटकहरू ताजमहल अवलोकन गर्न आउने गर्दछन् । हाल ताजमहल विश्वप्रख्यात सम्पदा सूचीमा सूचीकृत छ ।
एक रात आगराको बसाई र ताजमहल लालकिल्ला अवलोकनपछि हाम्रो टोली असोज २६ गते वृन्दावन धाम प्रस्थान गरेको थियो । करिब बिहानको ११ बजे हाम्रो टोली वृन्दावन पुगिसकेकोले दुई चार दिन बसोबास गर्नको लागि नेपाली आश्रम खोज्न पूर्णबहादुर भुजेल र म आफै झन्डै आधा घण्टा लगाएर राधा माधव सेवा आश्रम राजपुर वृन्दावन (चामुण्डा मन्दिर नजिक) उपलब्ध भयो ।
आश्रमका महाराज श्री बिहारीशरण देवाचार्य जीलाई अनुरोध गर्दै तीन दिन बसाइको सुविधा मिलाइदिनुहुन अनुरोध गरियो । आश्रमका महाराज जीले हाम्रो अनुरोध सहजै स्वीकार गरी हामीलाई दुईवटा कोठा उपलब्ध गराउनु भयो र २६ गतेको दिवा भोजन समेत उपलब्ध भयो ।
बडा दशैंको दशमीको दिन भएकाले आश्रमनै महाराजजीबाट श्रीश्री दुर्गा भवानी माताको प्रसाद टीका र जमरा लगाउने काम सम्पन्न भयो ।
परिचयको क्रममा महाराज नेपालकै हुनुहुँदो रहेछ । सुनसरी जिल्ला इनरुवा बलाहा निवासी महाराज विक्रम सम्वत २०४४ सालमा वृन्दावन गएर अध्ययन गर्नु भएको रहेछ । विक्रम सम्वत २०४४ सालदेखि हालसम्म महाराजजी राधा माधव आश्रममा हुनुहुन्छ । आश्रम निकै सफा सुन्दर शान्त वातावरण रहेको पाइयो । नेपाल भुटान दार्जिलिङ पश्चिम बंगाल आसाम मणिपुर नागाल्यान्ड लगायतका स्थानहरूबाट विशेषगरी नेपाली मूलका भक्तजनहरू आश्रममा गएर दुई चार दिन बस्ने गर्दा रहेछन् । सबैभन्दा बढी नेपालबाट जाने भक्तजनहरूको घुइँचो देखियो ।
दुईवटा विशाल भवनमा २०–२२ वटा आधुनिक डिजाइनका कोठाहरू भक्तजनहरूका लागि सुरक्षित छन् । खानेपानीको व्यवस्था शौचालय विद्युत सबै व्यवस्थित तरिकाले गुणस्तरीय देखियो । १५० जना भक्तजनहरूलाई आश्रमले दैनिक सेवा दिने क्षमता रहेको महाराजजीले बताउनुभयो ।
२०४६ सालदेखि यो आश्रममा विशेषगरी नेपाली मूलका भक्तजनहरूको बसोबास रहँदै आएको देखियो । आश्रममा १५ जना संस्कृत अध्ययन गर्ने विद्यार्थीहरू निःशुल्क रुपमा खान बस्न सुविधासहित रहेका छन् ।
आश्रमका संस्थापक श्रीश्री १०८ जगन्नाथ शरण देवाचार्य हुनुहुँदो रहेछ । उहाँको परलोकधामपछि हाल आश्रमका महाराज श्री बिहारीशरण देवाचार्य रहनुभएको छ । नजिकै यमुना नदी रहेकाले भक्तजनहरू बिहान सबेरै उठेर पवित्र यमुना नदीमा स्नान गरी अन्य धार्मिक मन्दिर, स्थान, कुण्डहरूको अवलोकनका लागि परिक्रमा गर्ने घुइँचो देखियो ।
हिन्दुहरूको पवित्र तीर्थस्थल वृन्दावन धाममा सबैभन्दा बढी भक्तजनहरूको भिड लाग्ने मन्दिर बाँके बिहारी मन्दिर हो । मन्दिरमा बेलुकी ४ बजेदेखि ८ बजेसम्म अत्यधिक भिड भक्तजनहरुको देखियो । वास्तवमा बाँके बिहारी मन्दिर व्यवस्थापन समितिले व्यवस्थापन गर्न नसकिरहेको अवस्था रहेको रहेछ । हजारौं भक्तजनहरू अव्यवस्थित तरिकाले दर्शन गर्न करिब एक किलोमिटर पैदल यात्रा जानुपर्ने अवस्था देखियो । त्यसपछि वृन्दावन धाममा आधुनिक शैलीमा सुन्दर कलाले निर्माण गरिएको प्रेम मन्दिर थोरै व्यवस्थित भएको पाइयो ।
भक्तजनहरूको लागि निकै आकर्षक रहेको प्रेम मन्दिर बेलुका ४ बजेर २० मिनेटमा मन्दिरको मूलद्वार खुला हुँदो रहेछ । बेलुकी ७ बजेसम्म मन्दिरमा प्रवेश गर्ने निकै लामो लाम देखियो । प्रेम मन्दिर आधुनिक तरिकाले आधुनिक डिजाइनमा कलात्मक शैलीले निर्माण गरिएको रहेछ । सुन्दर, सफा मन्दिर फूलैफूलको बगैंचा भएको मन्दिरका रूपमा भक्तजनहरू फोटो खिच्न भ्याइ नभ्याई देखियो ।
कीर्तन गर्दा हामीले सुनेका थियौं राधाकुण्ड, श्यामकुण्ड, गिरी गोवर्धन । ३१ किलोमिटर गोवर्धन परिक्रमा गर्नुपर्ने देखियो । धेरैभन्दा धेरै भक्तजनहरु खाली खुट्टाले पैदल यात्रा गर्दाको अवलोकन निकै मनमोहक थियो । हाम्रो सातजनाको टोली सिटी सफारीमा भारु ५०० मा ३ घण्टा लगाएर गोवर्धन परिक्रमा गर्दाको अनुभव साह्रै रमाइलो थियो । गोवर्धन परिक्रमा गर्दा बीचबीचमा दानवीर तथा दाताहरूले निःशुल्क भोजनको व्यवस्था गरेको देखियो ।
मथुरामा कृष्ण जन्मस्थान मन्दिरमा जाँदा साह्रै रमाइलो तथा भगवान श्रीकृष्णप्रति श्रद्धासुमन अर्पण गरियो । श्री कृष्ण जन्मस्थल मथुरामा निकै कडा सुरक्षा र व्यवस्थापनबीच भक्तजनहरूलाई मन्दिरमा प्रवेश गर्न दिने चलन निकै राम्रो थियो ।
व्यवस्थापकमा निकै मेहनत गरेका मथुरावासीले मन्दिरभित्र छालाका जुत्ता, पेटी, पैसा, मोबाइल, पानी, ब्याग केही लैजान पाइदैन । सुन्दर र सफा श्रीकृष्ण जन्मस्थान रहेकोले हाम्रो टोली एक घण्टाको अवलोकनपछि गोवर्धन परिक्रमातिर अग्रसर भएको थियो ।
वास्तवमा वृन्दावन धाम मथुरा तीर्थस्थल अवलोकन गर्न तथा दर्शन गर्न जाँदा कम्तिमा एक हप्ताको समय लिनुपर्ने रहेछ । दुई या चार दिन वृन्दावन धाममा बसेरसबै अवलोकन तथा परिक्रमा गर्न असम्भव देखियो ।
राधा माधव सेवा आश्रममा भक्तजनहरूले आफै पनि भोजन बनाएर खान मिल्दो रहेछ । हाम्रो टोलीले चामल तरकारी गुन्द्रक घरैबाट लगेकाले महाराजजीको आज्ञा अनुसार तीन दिनसम्म आफै पकाएर भोजन गरियो । भक्तजनहरूको इच्छा अनुसार बजारमा पाइने तरकारी दाल चामल आफैं किनेर आफै पकाएर भोजन गर्न सकिंदो रहेछ । अथवा राधा माधव सेवा आश्रममा भोजनको समयमा महाराजजीलाई जानकारी गराएर बिहानको दिउँसोको तथा रातिको नास्ता भोजन निःशुल्क रुपमा गर्न पाइन्छ । केही भक्तजनहरू राधा माधव सेवा आश्रममा १५ दिनसम्म रहने गर्दछन् । आश्रमको आम्दानी भनेको भक्तजनहरूको स्वइच्छाले दान गरेको रकम मात्र हो ।
उत्तर प्रदेश सरकार तथा भारतको केन्द्रीय सरकार, स्थानीय पालिकाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग नरहेको महाराजजीले बताउनुभयो । भक्तजनहरूको माया र प्रेमले आश्रम सञ्चालन भएको महाराजजीले स्वीकार गर्नुभयो । भक्तजनहरूले स्वइच्छाले आर्थिक सहयोग गर्नु हुँदो रहेछ । हाम्रो टोलीले पनि राम्रै आर्थिक सहयोग गरेको थियो । तीन दिनको वृन्दावन धाम बसाई अत्यन्तै सुखद तथा स्मरणीय रहेको हाम्रो टोलीका प्रमुख पूर्णबहादुर भुजेलको भनाइ छ ।
View : 51
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved