विराटनगर । शहरदेखि गाउँसम्म जथाभावी थुप्रिएको फोहोर व्यवस्थापनको अभाव र त्यसबाट उत्पन्न वातावरणीय जोखिमले सिंगै मुलुक आक्रान्त रहेका बेला यही समस्यालाई अवसरमा बदल्ने साहसिक प्रयास गरेका छन् सप्तरी रुपनगर निवासी युवा दिलीप रेग्मीले ।
विदेशी प्रविधि वा महंगो उद्योगको भर नपरी, आफ्नै सोच र श्रमबाट दिलीपले एक मेसिन निर्माण गरेका छन्, जसले आज ‘फोहोर’ भनेर फालिने सामग्रीलाई पुनः प्रयोगयोग्य वस्तुमा रूपान्तरण गर्छ ।
रिसाइकल प्रविधिमा आधारित यो मेसिनबाट टेबल, टायल, बाथरुममा प्रयोग हुने सामग्री तथा मार्बलको विकल्पका रूपमा प्रयोग गर्न मिल्ने सामग्री उत्पादन गर्न सकिने उनले बताए ।
बजारमा महंगो मूल्यमा उपलब्ध मार्बल र टायलको सट्टा, यही मेसिनबाट तयार सामग्री घर, बाथरुम, कार्यालय तथा अन्य संरचनामा सजिलै प्रयोग गर्न सकिने दिलीपको भनाइ छ ।
‘फोहोर समस्या मात्र होइन, सम्भावना पनि हो,’ उनी भन्छन्, ‘यदि यसलाई सही प्रविधिसँग जोड्न सकियो भने यो सम्भावना बन्छ ।’
सीमित स्रोत, प्राविधिक चुनौती र आर्थिक अभावबीच पनि हार नमानी उनले यो मेसिन तयार पारेका हुन् । स्थानीयस्तरमै उपलब्ध सामग्री प्रयोग गरेर निर्माण गरिएको यो प्रविधि साना उद्योग, नगरपालिका, फोहोर व्यवस्थापन केन्द्र तथा ग्रामीण क्षेत्रमा समेत उपयोगी हुने देखिएको छ ।
विशेषगरी रोजगारीको अभावका कारण ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको अवस्थामा दिलीप रेग्मीको यो प्रयास प्रेरणादायी बनेको छ । यसले फोहोर व्यवस्थापनमा सहयोग पु¥याउनुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना पनि बोकेको छ ।
यदि राज्य र निजी क्षेत्रबाट आवश्यक सहयोग, नीति समर्थन र प्रोत्साहन प्राप्त हुने हो भने यस्ता प्रविधिहरूले नेपालमै साना उद्योग विस्तार गर्दै सयौं युवालाई स्वदेशमै रोजगारी दिन सक्ने क्षमता राख्ने उनको भनाइ छ ।
View : 209
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved