Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पेटी कन्ट्याक्टरहरूको करोडौं भुक्तानी बाँकी

हुलाकी सडकको ठेकेदारलाई पक्राउ पूर्जी

उद्घोष सम्वाददाता
२० चैत २०८०, मङ्गलवार

विराटनगर । हुलाकी मार्ग अन्तर्गत मोरङ खण्डको ठेक्का लिने बीएस गजुरमुखी, मोतिदान जेभी कम्पनीका विरूद्धमा पक्राउ पूर्जी जारी गरी आफूले पाउनु पर्ने रकम असुल उपर गरिदिन पीडितहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा लिखित उजुरी दिएका छन् । ती निर्माण कम्पनीले पेटी कन्ट्याक्टरहरूको मात्रै करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

पीडित ठेकेदार र सप्लायर्सहरूले सम्बन्धित ठेकेदारलाई पक्राउ पूर्जी जारी गरेर प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा हाजिर गराई आफूहरूले पाउनु पर्ने पैसा असुल उपर गरिदिन लिखित माग  गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले पनि अटेर गर्ने ठेकेदारलाई पक्राउ गरी ल्याउन प्रहरीलाई पत्राचार गरेको जनाइएको छ । 

प्याकेज नं. २० को हुलाकी मार्ग निर्माण गर्न दिइएको निर्माण सामग्री, औजारका साथै मजदुरहरूलाई दिनुपर्ने पारिश्रमिक पनि नदिएकोमा गत मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको रोहवरमा भएको छलफलमा कम्पनीका प्रोप्राइटर सन्तोष गौतमले भुक्तानी दिने मञ्जुरी गरी बैंकको चेक दिएका थिए ।

गजुरमुखी निर्माण कम्पनी प्रालिको नामको सिटिजन बैंकको दरवारमार्ग शाखाको चेक नभजेको हुँदा आफ्नो पाउने रकम पाउनका लागि पीडितहरूले जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।

सो दिनको रोहवरमा धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार पनि थिए । चार महिना वितिसक्दा पनि पीडितहरूले भुक्तानी नपाएका हुन् । भुक्तानी नपाउनेमा बराह निर्माण सेवा विराटनगर–७ का सन्तोष मारू, आफन्त इँटा उद्योगका सरोजकुमार तामाङ, शिवशंकर मोटर पार्टस्का शंकरबहादुर कटुवाललगायत छन् ।

पीडितहरूले टेलिफोनमा पटक–पटक सम्पर्क राख्न खोज्दा पनि ठेकेदारहरू सम्पर्कमा आउन नचाहेकाले पक्राउ गर्न प्रशासन गुहार्नु परेको बताइएका छन ।

सडक नबनेको विषयलाई लिएर कटहरीका स्थानीय वासिन्दाले सडक अवरोध गरिरहेका छन् । ठेकेदार भने बेपत्ता भएकाले काम अगाडि बढ्न सकेको छैन ।

View : 120

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved