Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

योग  दिवस मनाइयो

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विरारटनगर । योग र ध्यानलाई घरघरमा पुर्याउनुपर्ने आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । तीब्र रुपमा बढिरहेको नसर्ने रोगलाई न्यूनिकरण गर्न योग र ध्यान प्रभावकारी हुने भएकाले सबै उमेर समूहका लागि योगाभ्यास आवश्यक रहेको उनीहरुको भनाइ छ । 

‘स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ बिहीबार ११ औं राष्ट्रिय योग दिवस मनाइएको हो । 

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र मोरङ, विराटनगर महानगरपालिका, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति, जीवन विज्ञान परिषद, विकाशानन्द फाउण्डेशन र पण्डित घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विराटनगरमा योग दिवस मनाइएको हो ।

कार्यक्रम अन्तर्गत प्रभातफेरी र योग तथा ध्यानका अभ्यास कार्यक्रमहरु आयोजना गरिएका छन् । सो अवसरमा विराटनगरमा एकाबिहानै प्रभातफेरी निकालिएको थियो । 

तीनपैनीचोकबाट निकालिएको प्रभातफेरीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै पोखरीयास्थित परोपकार अभियान समूहको सभा भवनमा पुगेर समापन भएको थियो । 

प्रभातफेरीमा आयोजक सातवटै संस्थाका पदाधिकारी तथा सदस्यसहित योगध्यानप्रति रुझान राख्ने सर्वसाधारणको सहभागिता थियो । 

प्रभातफेरीपछि परोपकार भवनमा योग र ध्यान प्रशिक्षण तथा अभ्यास कार्यक्रम आयोजना गरिएको थियो । 

सो ठाउँमा पतञ्जली योग समितिका प्रशिक्षकहरुले सहभागीलाई योग तथा प्रणायामका विभिन्न आसन तथा विधिहरुका बारेमा प्रशिक्षण दिएका थिए । 

लगत्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरकी सञ्चालिका एवं ध्यान प्रशिक्षक ब्रह्मकुमारी गीता दिदीले सहभागीलाई राजयोगको प्रशिक्षण दिएकी थिइन् ।

नसर्ने रोगहरु बढिरहेको सन्दर्भमा त्यसलाई न्यूनिकरण गर्न योग प्रभावकारी देखिएकाले सर्वसाधारणलाई योगप्रति प्रेरित गर्न कार्यक्रम गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङका बरिष्ठ कविराज निरीक्षक रविन्द्रकुमार मेहताले बताए । 

विसं २०७२ सालदेखि नेपालमा प्रत्येक बर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । योगलाई मानवभित्र भएका सम्पूर्ण सम्भावनाहरुलाई उजागर गर्न सक्ने ज्ञानविज्ञानको रुपमा समेत लिने गरिएको छ ।

View : 117

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved