Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

लेटाङलाई धनकुटाको ६ नम्बर बुधबारे जोड्ने सडक कालोपत्रे हुँदै

उद्‌घोष सम्वाददाता
२३ मंसिर २०८०, शनिवार

लेटाङ । उत्तरी मोरङको लेटाङदेखि धनकुटाको ६ नम्बर बुधबारे जोड्ने सडक कालोपत्रे हुने भएको छ । कालोपत्रे सुरु गर्ने कामको शुक्रबार लेटाङमा एक कार्यक्रमका बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका हुन् ।

लेटाङ नगरपालिकाको बीपी चोकबाट धनकुटाको चौबिसे गाउँपालिका-१ को ६ नम्बर बुधबारे बजारसम्मको २९.६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी सडकको शिलान्यास गरिएको हो ।

८७ करोड ३ लाख ५३ हजारको लागतमा सन्तोषी-जोया एण्ड ब्रदर्स जेभी सुनसरीले गर्ने उक्त सडक कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ । ५.५ मिटर कालोपत्रेसहित ७.५ मिटर चौडाइको बाटो निर्माण गर्न कम्पनीसँग २०८३ वैशाख २८ सम्मको समययावधि छ। निर्माण सम्झौता गत वैशाख २८ मा भएको हो ।

सडक निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले उत्तरी क्षेत्रका धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङलाई प्रदेशको राजधानीसम्म जोड्ने सडक निर्माण गर्न लागिएको बताए । काम समयभित्र नै सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई निर्देशन दिए ।

सडक निर्माणसँगै पहाडी जिल्लाका कृषि उत्पादनहरूलाई राष्ट्रिय राजमार्गसम्म पुर्‍याउन सहज हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्झौता भएअनुसारको मापदण्डको काम भए नभएको अनुगमन गर्न सम्बन्धित पालिका तथा उपभोक्ताले निगरानी गर्नुपर्ने बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै कोशी प्रदेशका सांसद खड्गबहादुर बस्नेतले निर्माण व्यवसायी स्थानीय भौगोलिक अवस्था बुझ्ने भएकाले समयावधिभित्रै कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरेले चुरे क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सडक कालोपत्रे गर्नुपर्ने बताए । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले आयोजना शिलान्यास हुने तर समयमा नै सम्पन्न नहुने कारणले निर्माण व्यवसायी तथा सरकारसँग जनताको विश्वास हराएको सन्दर्भ कोट्याए ।

उनले निर्माण गर्ने कम्पनी र अनुगमन गर्ने दायित्व लिएका पक्षले समयमा नै आयोजना निर्माण सम्पन्न गर्नुपर्ने बताए । विगतमा २०३६ सालमा बाटोको ट्रयाक खोल्ने कार्यमा तत्कालीन मन्त्री सूर्यबहादुर थापाले शिलान्यास गरेको स्मरण गर्दै प्रमुख लावतीले सडक कालोपत्रे गर्ने कार्यले यसपटक सार्थकता पाउने विश्वास व्यक्त गरे ।

उत्तरी मोरङको पर्यटन प्रवर्धनमा उक्त सडक महत्त्वपूर्ण हुने भएकाले निर्माण कार्यलाई छिटो अगाडि बढाउन लेटाङ नगरपालिकाका पूर्वमेयर शंकर राईले आग्रह गरे ।

आफ्नो कार्यकालमा उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पहल गरेको बताउँदै राईले सडक कालोपत्रेको लागि पहल गर्ने सबैलाई धन्यवाद दिए । धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले तराईको गर्मीलाई छल्न र पहाडको चिसो मौसममा रमाउन जाने छोटो सडक भएकाले सडक कालोपत्रेसँगै पर्यटकीय गतिविधि बढाउन महत्त्वपूर्ण हुने बताए ।

View : 164

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved