Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज कृष्ण जन्माष्टमी

कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुइँचो

उद्घोष सम्वाददाता
१० भदौ २०८१, सोमवार

विराटनगरस्थित राधाकृष्ण मन्दिरमा सोमबार विहानैदेखि दर्शनार्थी भक्तजनहरुको भिड लागेको छ । तस्वीर : उद्घोष

विराटनगर । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधनाका लागि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विराटनगरको राधाकृष्ण मन्दिरमा पनि दर्शनार्थीको घुइँचो सुरु भएको छ । 

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । 

आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

विराटनगरमा राधाकृष्ण रथयात्रा भने मंगलबार निकालिंदैछ ।  अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको कथन छ । 

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।  पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर तर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ ।  

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरीको टोली परिचालन भएको जनाइएको छ ।

View : 133

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved