विराटनगर । नेकपा एमालेले एउटै व्यक्ति दुईभन्दा बढि जनसङ्गठनमा बस्न नपाउने भन्दै त्यसलाई कडाइ गर्ने तयारी गरेको छ । मंगलबार बसेको कोशी प्रदेश कमिटीको बैठकले कुनैपनि व्यक्ति एकभन्दा बढी जनवर्गीय सङ्गठनमा रहन नसक्ने भन्दै १५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जाने निर्देशन समेत दिएको छ ।
‘अझैपनि एक व्यक्ति एक भन्दा बढि जनवर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला’ प्रदेश कमिटीले जारी गरेको अन्तर कमिटी निर्देशनमा भनिएको छ ।
यसअघि पनि केन्द्रीय कमिटीको निर्देशन अनुसार एक व्यक्ति एउटामात्रै जनसङ्गठनमा बस्नुपर्ने जानकारी गराइए पनि त्यो निर्देशन कार्यन्वयन नभएको भन्दै कडाइ गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।
एक व्यक्ति दुई वा सो भन्दा बढि जनवर्गीय सङ्गठनमा रहेको भए एक महिनाभित्र आफूले रोजेर एक जनवर्गीय सङ्गठनमा रहने भनिएको लामो समय भएपनि कार्यन्वयन नभएकोले १५ दिनको समय दिएर पुनः निर्देशन गरिएको उनले जानकारी दिए । निर्देशन पालना नगर्ने वा अटेर गर्नेहरूको हकमा प्रदेश कमिटीले आवश्यक निर्णय लिने समेत उनले चेतावनी दिए ।
View : 575
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved