Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एकीकृत समाजवादीमा कोशीबाट थपिए २० केन्द्रीय सदस्य

नाम थपिएकाप्रति स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आपत्ति जनाएकी थिइन् ।
उद्‌घोष संवाददाता
१३ कार्तिक २०८२, बिहिवार

विराटनगर । माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने आन्तरिक विवादमा रुमलिएको नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका २० जनासहित ७५ जनालाई केन्द्रीय सदस्य बनाएको छ । 

काठमाडौंमा बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा कोशीका २० सहित उनीहरुलाई केन्द्रीय कमिटीमा थप गरिएको जानकारी दिइएको थियो ।

बुधबार थप भएकाहरुमा मोरङबाट मात्रै सात जना छन् । कोशीका पूर्वमन्त्रीसमेत रहेका उपेन्द्र घिमिरेसहित अमृतकुमार सुब्बा, इन्द्र सुब्बा, गीता थापा, चन्द्रकला सुब्बा, मीरा दाहाल र लक्ष्मीकुमार श्रेष्ठ केन्द्रीय सदस्यमा मनोनित भएका छन् । 

इलामबाट प्रमिला बस्नेत, मिसन चाम्लिङ र रामचन्द्र पराजुली केन्द्रीय सदस्य बन्दा ओखलढुंगाबाट अमृतसागर बस्नेत, उदयपुरबाट केदार राई र सुष्मा राई, सुनसरीबाट केशव तिमिल्सिना, झापाबाट खेमराज पौडेल र बासुदेव दुलाल पनि केन्द्रीय कमिटीमा परेका छन् । 

त्यस्तै भोजपुरबाट गीता राई, पाँचथरबाट प्रेम रिजाल, संखुवासभाबाट सुमुना श्रेष्ठ र भोजपुरबाट हरि काफ्ले केन्द्रीय सदस्य बनेका छन् ।  

एकीकृत समाजवादीको ३४५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना थपिएपछि अब ४२० सदस्यीय केन्द्रीय कमिटी बनेको छ । 

संगठन विभागका प्रमुख बेदुराम भुसालले एकता प्रक्रिया, प्रदेशगत रुपमा खुला, महिला र ४० वर्ष उमेर समूहका केन्द्रीय सदस्य थप गर्नुपर्ने स्पष्टीकरण दिएपछि बैठकले ती सदस्यको नाम अनुमोदन गरेको हो ।

नाम थपिएकाप्रति स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियामा अहिलेसम्म भएको प्रगति पेस भएको थियो ।  

पार्टी एकताका लागि एकीकृत समाजवादीबाट वार्ता टोलीको नेतृत्व गरेका नेता वेदुराम भूसालले अहिलेसम्म भएको प्रगति बैठकमा सुनाएको सहभागी केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन् । 

नेता भूसालका अनुसार माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने सहमति भइसकेको छ ।  

चुनाव चिन्ह तारा हुने सम्भावना बढी रहेको उनको भनाइ छ । 

एकतापछि बन्ने पार्टीमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, पालिका कमिटी र वडा कमिटी कार्यकारी स्वरूपमा रहने सहमति भएको जानकारी भूसालले बैठकमा दिएका थिए ।

भूसालका अनुसार एकीकृत समाजवादी र माओवादी केन्द्रका बीच एकता भएपछि पार्टीको केन्द्रीय नेतृत्वमा संयोजक र सहसंयोजक रहने व्यवस्था गर्ने सहमति भएको छ । सँगै एउटा कार्य सम्पादन कमिटी बन्नेछ । त्यस पछाडि सचिवालय रहनेछ । 

एउटा राजनीतिक समिति र केन्द्रीय कमिटी रहने उनले बैठकमा बताएका थिए । 

एकता भएको ६ महिनाभित्र राष्ट्रिय एकताको सम्मेलन गर्ने सहमति भइसकेको भूसालले बैठकमा जानकारी दिएका थिए । 

एकीकृत समाजवादीभित्र अध्यक्ष नेपाल, नेताहरू प्रमेश हमाल, वेदुराम भूसाल,  राजेन्द्र राई, मेटमणि चौधरीहरू माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । 

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, रामकुमारी झाँक्री सहितका नेताहरू भने पार्टी पुनर्गठन पछि मात्रै एकता प्रक्रियामा जानुपर्ने अडानमा छन् ।

View : 349

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved