नरेश श्रेष्ठ स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेश एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । आयोजक कोशी प्रदेश भने शनिबार बाग्मतीसँग पराजयका कारण प्रतियोगिताबाट बाहिरिएको छ ।
बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको बाग्मतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको हो । पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।
बाग्मतीले निर्धारित ५० ओभरको ४८ दशमलव ३ बलमा सबै विकेट गुमाएर १८१ रन बनायो । बाग्मतीका सार्थक धिताल र उत्तम मगरले ३५–३५ रन बनाए । कोशीका प्रतीक पोखरेलले ३ विकेट लिँदा प्रेम कामतले पनि ३ विकेट लिए ।
१८१ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २९ दशमलव ५ बलमा अलआउट हुन पुग्यो । कोशीले १११ रनमा सीमित भयो ।
कोशीका सोनु अन्सारीले सर्वाधिक ३० रन बनाउँदा कृतिक कामतले २६ रन जोडे । ५ विकेट लिन सफल भएका बाग्मतीका दिपक सेरला प्लेयर अफ म्याच घोषित भए ।
उनले १० ओभरमा ३ मेडन राख्दै २० रन खर्चिएका थिए । बाग्मतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ । कोशीले खेलेको ५ खेलमा १ खेलमात्रै जितेको छ । चार खेलमा पराजित हुँदै छैटौँ स्थानमा पुगेको छ ।
मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा शनिबार नै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
शनिबार बिहानको वर्षाले २७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाई ८६ रन बनायो । गण्डकीका सोहेल कुवँरले सर्वाधिक २५ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाठीले पनि ३ विकेट लिए ।
८७ रनको विजयी लक्ष्य पाएको लुम्विनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । लुम्बिनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए ।
गण्डकीका अप्राजित पौडेल र सिब्रिन श्रेष्ठले समान २–२ विकेट लिए ।
प्लेयर अफ द म्याच लुम्विनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए । अर्जुन कुमाल नेतृत्वको गण्डकी प्रदेश आफ्ना ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा रहेको छ ।
बैजनाथपुरमा हुने आइतबार सुदूरपश्चिम र बागमती प्रदेश तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुने जनाइएको छ ।
View : 176
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved